फाइल तस्वीर ।

सुरुङ्गा । वर्षौदेखि कन्काई नदीको किनारमा लाग्दै आएको ऐतिहासिक माई मेला यस वर्ष भव्य रुपमा नलाग्ने भएको छ । विश्वव्यापी कोरोना महामारीका कारण भीडभाड हुनेगरी यस वर्ष मेला नलगाइने भएको हो ।

कोरोना महामारीको संक्रमण नसकिएकाले यस वर्ष भव्य रुपमा माई मेला नलगाइने कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोखरेलले बताए । उनले माघे संक्रान्तिमा मकर नुहाउन आउनेहरुलाई भने रोकतोक नहुने बताएका छन् ।

हरेक वर्ष कनकाई नदीको दुवै किनारमा पुष २६ देखि एक सातासम्म माई मेला लाग्दै आएको थियो । कनकाई नदीको पूर्वपट्टी कनकाई नगरपालिका र पश्चिमपट्टी शिवसताक्षी नगरपालिकाले ठेक्का दिएर माई मेला लगाउने गरेका थिए । यस वर्ष दुवै नगरपालिकाले मेलाको लागि ठेक्का नलगाउने भएका छन् ।

‘हामी मेलाको ठेक्का लगाउँदैनौं’, कनकाई नगर प्रमुख पोखरेलले भने , ‘मेलाका दिन के गर्ने भन्नेबारे शुक्रबार छलफल गर्नेछौं ।’ उनले विधिवतरुपमा भव्य रमाइलो मेला नलगाई भक्तालुहरुको पूजापाठको लागि सामान्य खालको मेला लगाउने विषयमा छलफल गरिने जानकारी दिए । माघ १ गते भक्तालुहरुलाई व्यवस्थित पार्न सामाजिक संघसंस्थाहरुलाई जिम्मेवारी दिने उनको भनाइ छ ।

त्यस्तै शिवसताक्षी नगरपालिकाले पनि यस वर्ष मेलाको ठेक्का नलगाउने भएको छ । संघीय सरकारको निर्देशनबमोजिम मेला नलगाइने शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले बताइन् । उनले आइतबार नगरपालिकाको बोर्ड बैठक बसेर त्यसबारे निर्णय लिने जानकारी दिइन् । माई मेलाको ठेक्काबाट दुवै नगरपालिकालाई लाखौं रुपैयाँ आम्दानी हुने गरेको थियो ।