झापा । पश्चिमी वायुको प्रभाव कमजोर बनेसँगै देशका धेरैजसो ठाउँको मौसम सफा भएको छ ।

अहिले प्रदेश १ का केही ठाउँमा बादल र तराईमा कुहिरो लागेको तथा बाँकी ठाउँको मौसम सफा रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

तराइमा लागेको हुस्सु तथा कुहिरो दिउँसो पखबाट हट्ने पनि उहाँले बताउनुभयो । सामान्य बादल लागेको प्रदेश १ मा पनि पानी पर्ने सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तत्काल मौसमी प्रणाली विकास नभएकाले आउँदो तीन दिन मौसम सामान्यतया सफा रहने मौसमविद् अर्यालले बताउनुभयो । यसैबीच आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम चार दशमलव पाँच डिग्री सेल्सियस मापन भएको छ ।