शनिश्चरे । झापाको अर्जुनधारा-८ स्थित प्रज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थाको १८औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

संस्था सञ्चालक समितिकी अध्यक्ष निर्मला पौड्यालको अध्यक्षता र झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्यमा आयोजित सभामा स्वागत मन्तव्य समितिका उपाध्यक्ष डिल्ली घोर्साईंले व्यक्त गरेका थिए ।

कार्यक्रममा अध्यक्ष पौड्यालले संस्थाको गत आर्थिक वर्ष ०७६/०७७ को वार्षिक प्रगति प्रतिवेदन र लेखा समितिकी संयोजक इन्दिरा दाहालले लेखा परीक्षणको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा शेयर पूँजी ५२ लाख ६० हजार एक सय रुपैयाँ, निक्षेप बचत एक करोड ३९ लाख २५ हजार २१ रुपैयाँ ४४ पैसा, कर्जा लगानी दुई करोड ५७ लाख ३९ हजार तीन सय ७५ रुपैयाँ उल्लेख गरिएको छ ।

त्यसैगरी जगेडा कोषमा २० लाख ६२ हजार तीन सय १० रुपैयाँ ३५ पैसा, अन्य कोषमा २३ लाख ९७ हजार दुई सय सात रुपैयाँ १२ पैसा, वाह्य ऋणमा ६४ लाख १७ हजार चार सय नौ रुपैयाँ ६२ पैसा, भुक्तानी दायित्व चार लाख ५७ हजार चार सय ८३ रुपैयाँ ४४ पैसा र अन्य दायित्वमा ९४ हजार नौ सय ७५ रुपैयाँ २४ पैसा उल्लेख गरिएको छ । त्यस्तै चालु आर्थिक वर्ष ०७७/०७८को लागि अनुमानित पाँच करोड १० लाख रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम प्रस्ताव गरिएको छ ।

ज्येष्ठ सदस्य चमेली मगरलाई सम्मानित गरिएको कार्यक्रममा असल ऋणी उर्मिला राजवंशी, असल बचतकर्ता ठाकुरमाया भट्टराई, उत्कृष्ट बाल बचतकर्ताहरु आरोही बुढाथोकी, कोशिस घिमिरे र सक्षमसिंह बस्नेत तथा उत्कृष्ट बचत तथा ऋणी राधिका राईलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा नगर सहकारी समन्वय समितिका सचिव कृष्णप्रसाद चापागाईं, सहनशील महिला बचत तथा ऋण सहकारी संस्थाकी सदस्य विना ताम्राकार, समितिका सल्लाहकारहरु दिपेन्द्र काफ्ले, पदमबहादुर मगर र लेखनाथ पोखरेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक तुलसा कुँवरले गरेकी थिइन् ।