झापा । आज प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बादल लागेर फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

अघिल्लो हप्ता देशभरको मौसम बद्ली भएर खुलेको केही दिनपछि फेरि मौसम बद्ली हुन लागेको हो । उल्लेख्य मौसमी प्रणाली नभए पनि स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसम बद्ली हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

यस्तै बिहानैबाट तराईका विभिन्न भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । तराईको कुहिरो भने दिउँसोपखबाट हट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईमा तत्काल शीतलहरको सम्भावना भने नरहेको मौसमविद् मानन्धरले बताउनुभयो । बाँकी भागको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यसैबीच काठमाण्डौ उपत्यकामा हिजोभन्दा आज केही न्यानो महशुस भएको छ । हिजो न्यूनतम तापक्रम तीन दशमलव नौ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज बिहान पाँच दशमलव पाँच डिग्री सेल्सियस मापन भएको छ ।

काठमाण्डौ उपत्यकामा आज अधिकतम तापक्रम २१ देखि २३ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । आज राति प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसममा हुने सामान्य परिवर्तनले देशका विभिन्न भागको न्यूनतम तापक्रम सामान्य घट्ने र तराईमा कुहिरो लाग्ने भएकोले चिसोबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।