इलाम । बहत्तर प्रतिशत जनसंख्या विद्युतको पहुँचमा पुगे पनि लामो विद्युत प्रसारण लाइनका कारण गुणस्तरीय विद्युत उपभोग गर्न इलामका उपभोक्ताले पाएका छैनन् । ११ हजार भोल्टेजको प्रसारण लाइन लामो र फिडरको संख्या कम हुँदा उपभोक्ताका घरमा गुणस्तरीय विद्युत नपुगेको हो ।

अत्यधिक लामो विद्युत प्रसारण लाइन भएपछि उपभोक्ताले नियमित विद्युत उपभोग गर्न नपाउनुका साथै घरमा बल्ने विद्युतको गुणस्तर पनि राम्रो छैन । इलामको ७२ प्रतिशत जनसंख्याको घरमा विद्युत पुगे पनि ११ हजार भोल्टेजको प्रसारण लाइन अत्यधिक लामो र फिडरको संख्या कम हुँदा समस्या भएको हो ।

प्रसारण लाइन लामो हुँदा उपभोक्ताका घरमा गुणस्तरीय विद्युत नपुगेको र नियमित सेवा दिन नसकिएको प्राधिकरणका इञ्जिनियर सरोज कुमार चौधरी बताउनु हुन्छ । सव-स्टेशनदेखि ३० किलोमिटरभित्र मात्रै विद्युत सेवा राम्रो हुने भए पनि इलाममा ११ हजार भोल्टेजको वितरण लाइन एक सय ८४ किलोमिटर लामो छ ।

जसका कारण प्रसारण लाइनमा फल्ट धेरै हुने, मर्मत गर्नु पर्दा करेन्ट प्रभाव काट्नु पर्ने भएकाले घण्टौसम्म सयौँ उपभोक्ताको घर अँध्यारो हुन्छ । लामो प्रसारण लाइन छुट्टयाउन प्राधिकरणले सव-स्टेशनमा फिडर विस्तार गरेपनि बजेट अभाव हुँदा त्यो पर्याप्त नभएको प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख पंकज गोइतको भनाइ छ ।

प्राधिकरणले गत आर्थिक वर्षमा मंगलबारे र माईजोगमाई फिडर विस्तार गरेको थियो । फिक्कल, तिल्केनी र गोदक सवस्टेशनका ७ वटा फिडर रहेको इलाममा उपभोक्ताको हैरानी हटाउन सन्दकपुर र चिसापानी पञ्चमीमा सवस्टेशन बनाउनुपर्ने प्राधिकरणको प्रस्ताव छ । इमेज खबरबाट