0 Shares

काठमाण्डौ । बाक्लो हुस्सु र कुहिरोका कारण आन्तरिकतर्फका सबै उडान प्रभावित भएको छ ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकाअनुसार विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत आन्तरिकतर्फका सबै उडान प्रभावित भएका छन् ।

बाक्लो हुस्सुले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ । कुहिरो हटेपछि उडान खुलाइने छ ।

मौसमविद्ले अहिले देशका धेरै ठाउँमा बाक्लो हुस्सु र कुहिरो लागेको बताएका छन् । अबको तीन दिनसम्मकै मौसम यस्तै रहने पूर्वानुमान गरिएको छ ।

यसैबीच, देशका धेरै ठाउँको मौसम बद्ली भएको छ । अझै दुई, तीन दिनसम्म मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । त्यसपछि भने मौसम खुल्दै जाने मौसमविद् विभूति पोखरेलले बताउनुभयो ।

हावामा पानीको मात्रासहितको दक्षिण पूर्वी अरब सागरबाट मौसमी प्रणाली नेपाल भित्रिएकाले तीन दिनसम्म नै मौसम बद्ली हुने उहाँको भनाइ छ । मौसम बद्ली भए पनि पानी पर्ने सम्भावना भने खासै नरहेको मौसमविद् पोखरेलले बताउनुभयो । अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।

मौसम बद्ली भएकाले हिजो अस्तिको भन्दा आज चिसो बढ्ने मौसमविद् पोखरेलको भनाइ छ ।