काठमाण्डौ । वर्षा नहुँदा यो वर्षको हिउँदमा सुख्खापन र प्रदूषण बढेको छ । सामान्य नागरिकमात्रै नभएर यतिबेला किसान, वातावरणविद् पनि वर्षाको प्रतिक्षामा छन् ।

तर, मौसमविद्ले तत्काल वर्षा नहुने बताउँदै आइरहेका छन् । बिहान हुस्सु र कुहिरो लागेर केही ठाउँको मौसम बद्ली भए पनि तत्काल पानी नपर्ने हुँदा यो महिनाभरिकै मौसम यस्तै रहने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

उहाँका अनुसार सामान्यतया माघ महिनाको १५ गतेदेखि बिस्तारै गर्मी बढ्छ । दिन लामोसँगै गर्मी पनि बढ्दै जाने भए पनि यसपालि त्यस्तो नहुने देखिएको उहाँले बताउनुभयो । समयमा नै पानी नपर्दा मौसम राम्ररी खुल्न सकेको छैन ।

पानी परे आकाश खुल्ने र धुवाँ धुलो पनि हटेर जान्छ । आज हिमाली जिल्लाको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ भने पहाडी जिल्लाको मौसम दिउँसोपख सफा हुने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । अहिले भने देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।

महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतय सफा रहेको छ ।

यसैगरी, आइतबार दिउँसो देशका पहाडी भूभागहरूमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यस्तै, राति देशका पहाडी भूभागहरूमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

यता, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।