इलाम । कोरोनापछि पर्यटकीय क्षेत्र डाँवाडोल बन्यो । बन्दाबन्दीका कारण पर्यटकीय क्षेत्रमा पर्यटक पुग्न छाडे । पर्यटकको सत्कारका लागि खटिने पर्यटनकर्मी बेकामे बने । व्यापार चलाउन नसक्दा होटल घर बन्द हुने अवस्थामा पुगे । बन्दाबन्दीका कारण धेरै पर्यटनकर्मीको हातमुख जोड्ने माध्यम खोसियो ।

पर्यटकीय क्षेत्र उठ्न धेरै समय लाग्ने र लामो सङ्घर्ष गर्नुपर्ने चर्चा चल्योे । यसको विपरीत बन्दाबन्दीपछि स्थानीय पर्यटकको चहलपहल अत्यन्तै बढ्यो । स्थापित पर्यटकीय क्षेत्रमा मात्र नभई नयाँ क्षेत्रमा समेत पर्यटक ह्वात्तै बढे ।

चार महिना घरमै थुनिएका मानिसलाई बन्दाबन्दीपछि घुम्ने क्षेत्र आवश्यक पर्यो । त्यसैले आन्तरिक पर्यटकीय क्षेत्रमा पर्यटकको बाक्लो उपस्थिति देखिन थाल्यो । घर वरपरका सामान्य चर्चा हुने पर्यटकीय क्षेत्रमा पर्यटक रम्न पुगे । जिल्लाका सन्दकपुर, श्रीअन्तु, माईपोखरीलगायतका क्षेत्रमा त भीड नै लाग्यो तर गुमनाम पर्यटकीय क्षेत्रमा चहलपहल बढेपछि पर्यटनकर्मी र स्थानीय तह भौतिक निर्माण र व्यवस्थापनमा जुटेका छन् ।

हुन त पछिल्लो समय केही पर्यटकीयस्थल चलचित्र र म्युजिक भिडियोको सुटिङ क्षेत्र बनेर पनि चर्चामा आए । सुटिङ स्पट भन्दै सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती तस्वीर सङ्ग्रहित भए । यसैले धेरै पर्यटक सोही क्षेत्र पुगे । जिल्लामा नयाँ पहिचान बनाएका पर्यटकीय क्षेत्र दिदीबहिनी झरना, पानीटार, पाटेनागी, झण्डे डाँडा, गुफाथुम्की मुख्य हुन् ।

बन्दाबन्दीअघि सामान्य चर्चा कमाएका यी क्षेत्र पछिल्लो समय एकाएक चर्चामा पुगेका हुन् । इलाम नगरपालिकाको दिदीबहिनी झरना पछिल्लो समय अत्यन्तै बढी पर्यटक पुग्ने मुख्य गन्तव्य क्षेत्र हो । विशेषगरी शुक्रबार र शनिबार यस क्षेत्रमा पर्यटकको चहलपहल चल्छ ।

उस्तै झरना, एकै ठाउँमा भएकाले यी झरनालाई दिदीबहिनी झरना भनिएको हो । सदरमुकाम नजिकै रहेकाले पनि यहाँ पर्यटकको बाक्लो उपस्थिति रहने गरेको पर्यटनकर्मी सोम सुनुवारको भनाइ छ । सुगम सदरमुकाम नजिक र छोटो बाटो भएकाले पनि आन्तरिक पर्यटक पुग्ने गरेको सुनुवारको भनाइ छ ।

यस्तै सुटिङस्थलका रूपमा चर्चामा आएको पानीटारमा पनि पर्यटकको आइरो लाग्ने गरेको छ । ‘मिनी कन्याम’का रूपमा विकास भइरहेको पानीटारमा चर्चित म्युजिक भिडियो ‘तीन पाते’को सुटिङ क्षेत्र हो । आँखा नबिझाउञ्जेल हेरिरहुँ लाग्ने, केही अग्लो र केही होचो चियाबारीले जिल्लाभित्रका पर्यटकलाई बढी तानेको छ ।

म्युजिक भिडियोपछि ‘कृष्णलीला’ चलचित्र यो स्थानमा सुटिङ भयो । चलचित्रको सुटिङपश्चात् झनै पर्यटकको उपस्थिति बाक्लिएको स्थानीय पर्यटनकर्मीको भनाइ छ । चलचित्रका लागि यो ठाउँको दृश्य खिचियो तर सामाजिक सञ्जालमा देखिन थालेपछि चलचित्र नसकी नै सोही क्षेत्र चर्चा आएको हो ।

‘हामीले चलचित्रबाट पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न यहाँ (पानीटार) आएका थियौँ तर, सामाजिक सञ्जालमा आएपछि पर्यटकको लर्के ताँत लाग्यो’, ‘कृष्णलीला’का निर्माता केवल तामाङले भने, ‘चलचित्र रिलिज हुनुअघि नै पानीटारमा पर्यटक पुग्न थाले । अब चलचित्रमा समेत देखिएपछि त झनै बढ्छन् ।’

वनभोजस्थलका रूपमा विकास भइरहेको पानीटारमा छुट्टीमा झण्डै २०० पर्यटक एकै दिन पुग्ने गरेका छन् । यो क्षेत्रमा अझै पनि व्यवस्थित खाने र बस्ने ठाउँको अभाव छ । यसैले पर्यटक लामो समय रहन सक्दैनन् तर पर्यटकको चहलपहल बढ्न थालेपछि भौतिक संरचनाको निर्माणमा लागेको पर्यटनकर्मी पासाङ शेर्पा बताउँछन् ।

यस्तै छिल्लो समय कहलिएको पर्यटकीय क्षेत्र हो इलाम नगरपालिकाको पाटेनागी । उच्च पहाडी क्षेत्रमा पर्ने यो क्षेत्र हिमाल हेर्न र स्थानीय परिकार चाख्न बढी पर्यटक पुग्ने गरेका छन् । पाटेनागीको केही तलसम्म कच्ची सडक पुर्याएपछि त झनै पर्यटकको चहलपहल बाक्लिएको छ । दैनिक यो ठाउँमा १५ देखि २० आन्तरिक पर्यटक पुग्ने गरेका छन् । रासस