इलाम । विशेषगरी स्थानीय तहको आँखा नपुग्दा धेरै पर्यटकीय क्षेत्र पछि परेको देखिन्छ । भौतिक निर्माण (बाटो, अवलोकन गर्ने स्तम्भ)को अभावमा अझै केही पर्यटकीय क्षेत्रमा पुग्न सकस छ ।

इलाम जिल्लाको सन्दकपुर गाउँपालिकामा पर्ने छिन्टापु, टोड्के झरनालगायतका सुन्दर पर्यटकीय क्षेत्र अझै पनि पर्यटकको प्रतीक्षामा छन् । टोड्के झरना जिल्लाकै अग्लो झरना हो तर झरनासम्म पुग्ने सडक अझै बनेको छैन । भिरालो जङ्गलको बाटो छिचोल्नै झरना पुग्न कष्टकर छ तर यसप्रति कसैको ध्यान गएको देखिँदैन ।

जिल्लाका योभन्दा साना झरना चर्चामा आए पनि टोड्के झरनामा ध्यान पुगेको छैन तर गाउँपालिकाका प्रवक्ता गिरिराज खनालले भने पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा पालिका लागिरहेको बताए । उनका अनुसार निकट भविष्यमै यो स्थानमा सडक पुग्ने छ । ‘केही भवन यहाँ बनिएका छन् । आवश्यकतानुसार अन्य भवन बनाउँछौँ । अब यो क्षेत्र गुमनाम हुँदैन’, खनालले भने ।

यस्तै अर्को पर्यटकीय क्षेत्र छिन्टापु पनि हालसम्म गुमनाम छ । यो क्षेत्रमा पर्यटक होइन, स्थानीयवासी पनि पुग्न सकस छ । बाक्लो जङ्गलको कष्टकर बाटो हिँडेर जानुपर्ने भएकाले बाटो अल्मलिने समस्या ज्यादै धेरै हुन्छ ।

हालसम्म सडकसमेत नपुगेका कारण छिन्टापुमा छिटपुटबाहेक पर्यटक पुग्न सक्दैनन् । यो क्षेत्र विकासका लागि पनि गाउँपालिकाले योजना बनाएको प्रवक्ता खनालको भनाइ छ । छिन्टापुको नजिक रहेको सन्दकपुरमा पर्यटकको बाक्लो उपस्थिति हुन्छ । बिहान बेलुकै सन्दकपुरमा आन्तरिक मात्र नभई बाह्य पर्यटकको भने चहलपहल हुन्छ तर नजिकै रहेको यस्तै क्षेत्र छिन्टापु कसैको आँखामा पर्दैन ।

उच्च पहाडी तथा हिमाली क्षेत्रको समेत यस ठाउँबाट दृश्यावलोकन गर्न सकिन्छ । बहुमूल्य जडीबुटी पाइने क्षेत्रका रूपमा पनि छिन्टापु चर्चित छ । यदि स्थानीय तहको आँखा पुगे चर्चित पर्यटकीय क्षेत्रका रूपमा प्रख्यात हुन सक्छ ।

छिन्टापुजस्तै पानीटारमा समेत स्थानीय तहको उपस्थिति नगन्य मात्रा रहेको छ । निजी क्षेत्रको प्रोत्साहनले चर्चित भएको यो क्षेत्रमा स्थानीय तह (देउमाई नगरपालिका)को ध्यान नपुग्दा भौतिक संरचनाको निर्माण हुन सकेको छैन ।

यता नगरपालिकाले पनि पानीटारमा मात्र नभई पर्यटकीय क्षेत्रमा आफ्नो ध्यान नगएको स्वीकारेको छ । नगरका प्रवक्ता दावा तामाङले आफूहरू सडक निर्माणका काममा खटिएकाले पर्यटनमा ध्यान नगएको बताए । रासस