झापा । पश्चिम तराईका केही ठाउँमा शीतलहर चलेको छ । बाँके, बर्दिया आसपासका क्षेत्रमा शीतलहर चलेको मौसमविद्ले बताएका छन् । तर, मौसमविद्ले शीतलहरको औपचारिक घोषणा भने गरिसकेका छैनन् ।

४८ घण्टासम्म बाक्लो हुस्सु रहिरहे मौसमविद्ले शीतलहरको औपचारिक घोषणा गर्ने गरेका छन् । केही ठाउँमा मात्रै शीतलहर देखिएको र यसबारे अध्ययन भइरहेको मौसमविद् मन्जु बासीले बताउनुभयो ।

तराईका सबैजसो जिल्लामा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ । धेरै ठाउँका हुस्सु कुहिरो दिउँसो २-३ बजेपछि हट्ने मौसमविद् बासीले जानकारी दिनुभयो । बाक्लो हुस्सु र चिसो हावाका कारण तराईका जिल्लाको जनजीवन प्रभावित हुँदै गएको छ ।

मौसमविद् बासीकाअनुसार आज प्रदेश १ र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना छ । अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा रहने अनुमान छ ।

काठमाण्डौमा बिहान कुहिरो लागे पनि बिस्तारै हट्न थालेको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ६ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ ।