काठमाडौं । पश्चिमी वायुको प्रभावले केही दिनदेखि बदली भएको मौसममा आजदेखि सुधार आउने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

अहिले प्रदेश नम्बर १ बाहेक अन्य स्थानको मौसम खुल्दै गएको मौसमविद् सजिना शाक्यले बताइन्। प्रदेश नम्बर एकमा भने आज दिनभर नै बदली भई केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ।

हिजो काठमाडौँ उपत्यकासहित देशका अधिकांस स्थानको मौसम बदली भई वर्षा र हिमपात हुँदा अत्यधिक चिसो बढेको छ। देशभरका सबै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ। वर्षा र हिमपातले बालीनाली सप्रिने भएपछि कृषकहरु खुसी भएका छन्।

काठमाडौं उपत्यका आसपासका उच्च भेगमा पनि हिमपात भएको छ। उपत्यकाको न्युनतम तापक्रम आज विहान १ डिग्री सेल्सियस मापन भएको छ। जुम्ला, मनाङ, मुस्ताङ, दोलखा लगायतका स्थानको मौसम माइनस डिग्रीमा झर्दा जनजीवन कष्टकर बनेको छ । आजदेखि प्रदेश नम्बर एकबाहेक अन्य स्थानको मौसम सफा भएर घाम लाग्ने संभावना भएकाले जनजीवन सामान्य बन्दै जानेछ।

प्रदेश नम्बर एकको सवैजसो स्थानको मौसम बिहानैदेखि बदली हुन सुरु गरेको महाशाखाले जनाएको छ। प्रदेश एकको तराई भेगमा बाक्लो हुस्सु लागेको छ। गत बिहीबारदेखि भित्रिएको निम्न चापिय प्रणाली भोलिदेखि बाहिरीने संभावना रहेको महाशाखाले जनाएको छ।