अर्जुनधारा । साना कृषकलाई अनुदानले भन्दा पनि सहुलियत ऋण प्रदान गर्न सकेको खण्डमा कृषक व्यावसायिक बन्ने सम्बन्धित सरोकारवाला निकायले सुझाएको छ ।
मत्स्य मानव संशाधन विकास तथा प्रविधि परीक्षण केन्द्र जनकपुरका वरिष्ठ मत्स्य विकास अधिकृत रविलाल शर्माले लक्षित कृषकहरुको व्यावसायिक विकास गर्न अनुदान दिनु भन्दा पनि सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्ने बताएका हुन् । अर्जुनधारा नगर पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखाद्वारा आयोजित तीन दिवसीय माछा पालनसम्बन्धी व्यावसायिक तालिम समापन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्ने क्रममा अधिकृत शर्माले सो कुरा बताएका हुन् ।
सम्बन्धित निकायबाट वितरण गरिने अनुदान वास्तविक कृषकसम्म नपुग्ने तर अनुदानको लागि समन्वय गर्नेलाई मात्र लाभ हुने उनले दाबी गरेका छन् । वास्तविक कृषकहरुलाई कम ब्याजदरमा सहुलियतपूर्ण ऋण प्रवाह गर्नसके नतिजा राम्रो आउने उनको भनाइ छ ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका शर्माले अनुदानका कारण कृषक र कर्मचारी दुवैलाई बिगारेको समेत आरोप लगाए । उनले काम सुरु गर्नुभन्दा पहिले होइन काम सकेपछि अनुदान दिनुपर्ने तर्क प्रस्तुत गरे । पोखरी खन्नुअघि होइन खनी सकेपछि अनुदान दिनुपर्ने उनको तर्क थियो ।
कार्यक्रमकी अध्यक्षता मन्तव्यका क्रममा नगर उपप्रमुख कमला खतिवडा आचार्यले आर्थिकरुपमा विपन्न कृषकहरुको लागि आवश्यक हुने अनुदान सहकारीमार्फत् प्रदान गर्ने हो भने उनीहरु व्यावसायिक हुने बताइन् ।

उनले कृषकहरुको क्षमता अभिबृद्धि गर्न सुरु गरिएको यस प्रकारको तालिमको निरन्तरतासँगै व्यावसायिक माछापालनका लागि आवश्यक अन्य कार्यमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
नगर माछापालक संघका अध्यक्ष युवराज पाण्डेलगायतले तालिमको अनुभव प्रस्तुत गरेको कार्यक्रममा सहभागी ४० जना कृषकलाई प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन नगर पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखा प्रमुख पदमलाल राईले गरेका थिए ।