काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रही अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

प्रदेश नं १, गण्डकी प्रदेश तथा सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना तथा तराईका थोरै भूभागमा बिहानीपख हुस्सु र कुहिरो लाग्न सक्ने हुँदा तापक्रममा सामान्य गिरावट आउन सक्ने देखिएकोले यसबाट जनजीवन र यातायातमा पर्न सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ ।

बुधबार प्रदेश नं १, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदलीको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

विहीबार देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

शुक्रबार प्रदेश १, र प्रदेश २, लागायत देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।