बिर्तामोड । झापाको विर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले विश्वव्यापी महामारी कोरोना भाइरसबाट सङ्क्रमित भई उपचारपछि स्वास्थ्यलाभ गरेका शेयर सदस्य एवम् कोरोनाकै कारण ज्यान गुमाएका सदस्यका परिवारलाई राहतस्वरुप आर्थिक सहायता गरेको छ ।

वित्तीय रुपमा देशकै अब्बल सहकारी मानिएको सहाराले कोभिड सहायता कार्यक्रममार्फत आर्थिक सहयोग गरेको हो । झापाको सुरुंगामा आयोजित संक्षिप्त कार्यक्रमका बीच कोरोना सङ्क्रमण भई उपचारका क्रममा निधन हुने तीन जना शेयर सदस्य र एक जना कर्मचारीका परिवारलाई ९ लाख ८७ हजार ३ सय ७३ रुपैयाँ सहायता रकम वितरण गरिएको छ ।

यस्तै, कोरोना पोजेटिभ भई संस्थागत वा हामे आइसोलेशनमा बसेका ९८ जनालाई १४ दिनको आसोलेसन भत्ता स्वरुप जनही ७ हजारका दरले ६ लाख ८६ हजार रुपैयाँ वितरण गरेको जनाइएको छ ।

यसैगरी कोरोना पोजेटिभ भई उपचारको लागि अस्पताल भर्ना भएका १४ जना शेयर सदस्यलाई १५ लाख ९७ हजार ७ सय ६३ रुपैयाँ प्रदान गरिएको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिनु भयो । कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईले सहायता रकम प्रदान गर्नुभएको थियो ।

वित्तीय कारोबारमा मात्र नभई उल्लेख्य रुपमा सामाजिक क्रियाकलापमा सहभागी बन्दै आएको सहारा साकोसले लघुवित्तमा आवद्ध विपन्न सदस्यहरुलाई कोरोनाका कारण सरकारले गरेको लकडाउनका बेला खाद्ययन्नलगायत अति आवश्य वस्तुका लागि ७ हजार ८ सय १६ जनालाई २ करोड ६८ लाख २३ हजार रुपैयाँ बराबरको सापटी रकम उपलब्ध गराएको थियो ।

लकडाउनका बेला समस्यामा परेका ऋणी सदस्यको १० प्रतिशत व्याज मिनाहा गर्दै ३ करोड ४५ लाख छुट प्रदान गरेको थियो ।

त्यस्तै सरकारी निकाय र स्थानीय पालिकाहरुको सहकार्यमा क्वारेनटाइनमा बसेका विभिन्न मानिस, झापाको दमकमा रहेको भूटानी शरणार्थी शिविरमा बसोबास गर्ने परिवार र प्रदेश १ का विभिन्न जिल्लामा रहेका विपन्न वर्गका परिवारमा निःशुल्क खानेकुरा वितरण गरेको थियो भने सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको थियो ।

त्यस कार्यमा ५७ लाख ३५ हजार २५७ रुपैयाँ खर्च भएको थियो । यसैगरी, समुदायस्तरबाट कनकाईमा स्थापना गरिएको पीसीआर ल्याव स्थापनाका लागि सहाराले अगुवाइ गरेको थियो ।