जुम्ला । जुम्लाबाट यस वर्ष १९ करोड बराबरको स्याउ निर्यात भएको छ । गत वर्ष मात्रै ३४ करोड बराबरको स्याउ निर्यात भएको जुम्लाबाट यस वर्ष १५ करोडले घटेर १९ करोड बराबरको स्याउ मात्रै निर्यात भएको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।
गत वर्ष स्याउबाट तीन वर्षकै दोब्बर आम्दानी भएको जुम्लामा यस वर्ष स्याउ उत्पादन नै दोब्बरले घटेपछि आम्दानी पनि ह्वात्तै घटेको कृषि विकास कार्यालयका कृषि अधिकृत खेमराज शाहीले बताउनुभयो । गत वर्ष १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको जुम्ला यस वर्ष ६ हजार २ मेट्रिक टन स्याउ उत्पादन भएको छ ।
उहाँले भन्नुभयो,’यस वर्ष जुम्लामा विगत २-३ वर्षकै यता स्याउ उत्पादन घटेको छ । जसले गर्दा स्याउ खेतीमै भविष्य देखेका किसान समस्यामा परेका छन् । जलवायु परिवर्तनले हिउँ नपर्ने, बगैँचामा भाले जातको बिरुवा नहुनु, तालिम प्राप्त प्राविधिकबाट बिरुवा काँटछाँट नहुनु लगायतका कारणले स्याउको उत्पादनमा गिरावट भएको हो ।’
तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/७५ मा १६ करोड बराबरको स्याउ निर्यात भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा १७ करोड बराबरको स्याउ निर्यात भएको थियो । भने २०७६/०७७ मा ३४ करोड बढीको स्याउ निर्यात भएकोमा आव २०७७/०७८ भने १९ करोड स्याउ निर्यात भएको कृषि अधिकृत खेमराज शाहीको भनाई छ ।
पछिल्लो समयमा प्राविधिक ज्ञान भन्दा हचुवाकै भरमा भइरहेका स्याउ खेतीले उत्पादन बढ्ने भन्दा घट्ने अवस्थामा रहेको कृषि अधिकृत शाहीले जानकारी दिनुभयो । स्याउको उत्पादन र बजारीकरण राम्रो भए पनि यस वर्ष उत्पादन राम्रो नहुँदा स्याउको आम्दानी गुमेको किसान तारा बहादुर बोहोराले बताउनुभयो ।
गत वर्षजस्तै यस वर्ष पनि स्याउ उत्पादन बढ्ने आशामा गरेका किसान चिन्तामा परेका छन् । जुम्लाका साढे १६ हजार घरधुरी स्याउ खेतीमा निर्भर छन् ।
६ हजार मेट्रिक टन स्याउ उत्पादन
जुम्लामा स्याउ उत्पादन गत वर्षको भन्दा दोब्बरले घटेको छ । गत वर्ष १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको जुम्लामा यस वर्ष ६ हजार २ सय १० मेट्रिक टन मात्रै स्याउ उत्पादन भएको कृषि विकास कार्यालयको तथ्याङ्क छ ।
कृषि अधिकृत खेपराज शाही भन्नुहुन्छ, ‘यस वर्ष जम्मा ६ हजार २ सय १० मेट्रिक टन स्याउ उत्पादन भएकोमा ४ हजार ३ सय ४७ मेट्रिक टन मात्रै निर्यात भएको छ भने जम्मा स्याउ खेती गरिएको ३ हजार ८ सय ८५ हेक्टर जमिनमध्ये १ हजार ५ सय ५४ हेक्टर जमिनमा मात्रै स्याउ फलेको थियो ।’ गत वर्ष स्याउ खेतीमा आशा जगाएको स्याउ खेतीले यस वर्षको उत्पादन तथा आर्थिक आम्दानी हेर्दा स्याउ किसान मर्कामा परेका छन् ।
स्याउ खेतीमा लगानी बढ्दै गए पनि प्राविधिक ज्ञान र हावापानीले साथ नदिए स्याउ उत्पादन अझै घट्ने कृषि विज्ञको भनाई छ । कृषि अधिकृत खेमराज शाहीका अनुसार स्याउ खेतीका लागि कम्तीमा १ हजार घण्टा माइनस तापक्रम चाहिन्छ । तर, हिउँ नपर्दा जमिन चिस्यान कायम नहुँदा पनि स्याउ उत्पादन घट्दै गएको छ ।