झापा । प्रधानमन्त्री रोजगार कार्यक्रम यस बर्षका लागि झापाको अर्जुनधारमा पनि शुरु भएको छ । अर्जुनधारा नगरपालिका ९ नम्बर वडाबाट मङ्लबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरवात भएको हो ।

वडालाई प्राप्त दरखास्तका आधारमा विभिन्न प्रक्रिया पूरा गरी छनौट भएका महिला ३७ र पुरुष १० गरी ४७ जनालाई चालु आर्थिक वर्षभित्र १ सय दिनको रोजगार प्रदान गरिने वडा अध्यक्ष पुष्पकुमार प्रसाईले बताए ।

रोजगारमा खटिएकाहरुले वडाले खटाएको स्थानमा विकास निर्माणका काम गर्नुपर्ने कार्यालयले जनाएको छ । छनौटमा परेकाहरुले दिनको ५१७ रुपैयाँका दरले पारिश्रमिक पाउने छन् ।

नगरका अन्य वडामा पनि यो कार्यक्रम क्रमशः बिस्तार गर्दै लगिने नगरपालिकाको रोजगार संयोजक प्रतीज्ञा थापा मगरले बताइन । कार्यक्रममा नगर प्रमुख हरिकुमार रानाले सबैलाई इमान्दारपूर्वक कार्य सम्पादन गर्ने अनुरोध गरेका थिए ।