प्रकाश नेपाल,
इलाम । सन्दकपुर जमुनामा रहेको ढाप सिमसार क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएको छ । इलाम बजारबाट २१ किलोमिटर उत्तरमा रहेको पोखरी स्थानीयको पर्यटन विकास प्रतिको मोह र सक्रियताका कारण जिल्लाकै आकर्षक पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ ।

जिल्लाकै ठूलो मानिएको पोखरी झण्डै ५० रोपनी क्षेत्रफलमा फैलिए पनि विस्तार गर्ने पर्याप्त ठाउँ रहेकाले पोखरीको क्षेत्रफल अझै बढ्ने देखिन्छ । पोखरीको बीचमा पानीको फोहोरा छाड्ने, पोखरीमै रहेको डाँडालाई आर्कषक पार्क बनाउने, पर्यटकलाई खान र बस्नका लागि होमस्टेको व्यवस्था गर्ने, डुङ्गालाई निरन्तर सञ्चालनमा सरकारको ध्यान नपुगेको स्थानीय विप्लव भट्टराई बताउनुहुन्छ ।

पोखरी क्षेत्रमा ट्रेकिङ निर्माण, पक्की शौचालय, सूचना केन्द्रलगायतका पूर्वाधार विकासका काम भइरहे पनि तीव्र गतिमा हुन सकेको देखिँदैन । पोखरीको आकर्षण बढाउन र होमस्टे व्यवस्थापन गर्न सकेमात्र पनि यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न सकिने स्थानीय बताउँछन् ।

पोखरीको सौन्दर्यता बढाउन सके पूर्वी नेपाल, सीमापारी भारतीय दार्जिलिङ र पश्चिमा पर्यटकको पनि आवागमन बढाउन सकिने देखिन्छ । तर त्यहाँसम्म पुग्ने सडकको दुरावस्थाका कारण पर्यटकहरू नाक खुम्च्याउने अवस्था आएको छ ।

पोखरीका अलावा रेडपाण्डासहितका दुर्लभ पशुपंक्षी पाइने चोयाटार, हाँगेथाम, जौवारी लगायत क्षेत्रको पनि प्रवर्द्ध गर्न सके पूर्वकै नमुना पर्यटकीय गन्तव्य बन्ने थियो । पछिल्लो समयमा पर्यटकको आकर्षण बढाउन पोखरीमा डुङ्गा सञ्चालन थालिए पनि यसले निरन्तरता पाउन सकेको छैन ।

त्यसैले प्राकृतिक सौन्दर्यले भरिपूर्ण सन्दकपुरमा विकास गर्न सके सिङ्गो पूर्वाञ्चल क्षेत्रले नै पर्यटकीय गन्तव्यको रूपमा फड्को मार्ने थियो ।