इलाम । अन्तुका पर्यटन ब्यवसायी रुद्र घिमिरेलाई यतिबेला भ्याई नभ्याई हुन्छ । पर्यटकको चापका कारण उहाँ बिहानदेखि रातीसम्म नै ब्यस्त रहनु हुन्छ । आएका पर्यटकलाई सेवा दिँदा अन्तुका रुद्र जस्ता दर्जनौं ब्यवसायीको दिनचर्या नै हो ।

कोरोना भाइरस (कोभिड १९) पछि गरिएको लकडाउनका कारण खस्किएको अन्तु र कन्यामको पर्यटन ब्यवसाय अहिले राम्ररी फस्टाएको छ । ब्यवसायी घिमिरे भन्नुहुन्छ ‘आन्तरिक पर्यटकको ओइरो नै छ, कहिलेकाहि त थाम्नै मुस्किल पर्छ ।’ कोभिडको संक्रमण कम भई मौषम समेत खुलेपछि इलामका प्रमुख पर्यटकीय स्थलहरु अन्तु र कन्याममा आन्तरिक पर्यटकको भीड्मभाड हुने गरेको छ ।

अन्तुमा सूर्योदयको दृश्यावलोक गर्न पर्यटकको ओईरो लाग्ने गरेको छ । श्रीअन्तु पर्यटन ब्यवसायी संघका सचिव समेत रहनु भएका ब्यवसायी घिमिरेले लकडाउनले थला परेको पर्यटन ब्यवसाय छोटै समयमा पुरानै अवस्थामा फर्कीएको बताउनु भयो ।

अन्तुमा अहिले दैनिक चार सय बढी नै पर्यटक पुग्ने गरेका छन् भने शुक्रबार त्यो संख्या बढेर १५ सय देखि दुई हजारसम्म पुग्ने गरेको छ । अन्तुमा अन्तुडाँडा सामुदायिक होमस्टे अन्र्तगत ५५ वटा होमस्टे र अन्तु पोखरी सामुदायीक होमस्टे अन्र्तगत १४ वटा होमस्टे रहेका छन् । यहाँ काठैकाठले बनेका अन्य ४३ वटा होटल, कटेज रहेका छन् । प्रायः जसो यहाँका होमस्टे, होटल र कटेज खचाखच नै हुने गरेका छन् ।

अन्तु डाँडा सामुदायिक होमस्टेका अध्यक्ष समेत रहनु भएका धनकुमार आलेले कोभिडको संक्रमणपछि गरिएको लकडाउनको अवधि र लकडाउन खोलिए पछि आएका पर्यटको तुलनात्मक अवस्था हेर्दा सन्तोसजनक अवस्था रहेको बताउनु भयो । ‘अन्य ठाउँको जस्तो ब्यवसायबाट भाग्नु पर्ने अवस्था यहाँ छैन, सबैको ब्यवसायले गति लिएकै छ’, ब्यवसायी आलेले भन्नुभयो ।

अन्तुमा सूर्योदयको दृश्यावलोकन सहित , अन्तु पोखरीमा डुंगा सयर गर्न, चियाबारीमा तस्विर खिचाउन र स्थानीय खानाका परिकारका स्वादमा रमाउन पर्यटक पुग्ने गरेका छन । बाह्रै महिना पर्यटकको भीड लाग्ने अन्तुमा कोभिडको संक्रमण पछि पनि होटल र कटेज थपिने क्रम जारी रहेको छ ।

यता सधै पर्यटकले खचाखच हुने कन्याममा पनि पर्यटकको भीड् हुने गरेको छ । घुम्न र बनभोजका लागि आउने स्वदेशी पर्यटकले कन्याम भरीभराउ हुँने गरेको छ । कन्याममा घोडचढी गर्न देखि बिभिन्न जातजातीका पोशाकमा सजिएर चिया बगानमा तस्विर खिचाउन र हिमालका दृश्य अवलोकनका लागि पर्यटक आउने गरेका छन् । कन्यामका होटल ब्यवसायी टेकराज गिरीले पछिल्लो समय पर्यटकको आवागमन ह्वात्तै बढेको जानकारी दिनुभयो ।

‘गिरीले भन्नु यो ब्यवसाय भएन भनेर बस्नुपर्ने अवस्था छैन , पर्यटक थपिने क्रम जारी छ । कन्याममा स्वदेशी सहित भारतीय र बंगाली पर्यटक आउने गरेका छन् । कन्याम आएका पर्यटकले स्थानीय स्तरमा उत्पादित बिभिन्न जातका चियाका स्वाद लिने गरेका छन ।

प्रदेश १ सरकारले पर्यटकीय नगरी घोषणा गरेको सूर्योदय नगरपालिकाको कन्याम, अन्तुमा बाह्रै महिना पर्यटकको भिड लाग्ने गरेको छ ।

सिंगारिदै अन्तु र कन्याम
आन्तरिक पर्यटकको भीड लाग्ने इलामको पर्यटकीयस्थल अन्तु र कन्यालाई सूर्योदय नगरपालिकाले सिंगारने काम गरिरहेको छ । सरकारले ग्रामस्ण पर्यटन र घुम्नैपर्ने पर्यटकीयस्थलको रुपमा अन्तुलाई घोषणा गरेपछि पूर्वाधार निर्माणको कामले गति लिएको हो । सूर्योदय नगरपालिकाले अन्तुडाँडामा सौन्र्दयकरणको काम सम्पन्न गरेको छ ।

आन्तरिक पर्यटकको आकर्षणको केन्द्र रहेको अन्तुमा नगरपालिकाको एक करोडको लागतमा काम सम्पन्न गरेको छ । अन्तुडाँडा क्षेत्रमा नगरपालिकाबाट पदमार्ग र टावर वरीपरि फुटरेल निर्माण गरिएको छ । यस्तै कन्यममा सडक फराकिलो पार्ने, सडक आसपास रेलिङ लगाउने काम भैरहेको छ ।

बिभिन्न स्थानमा पर्यटकीय पार्क र पैदल मार्ग निर्माण भैरहेको छ । सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले नगरको मुख्य स्रोत नै पर्यटन ब्यवसाय भएकाले पर्यटकीय स्थलको बिकास पहिलो प्राथमिक्तामा रहने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘ पर्यटन मैत्री बिकासको मोडलमा अगाडि बढिरहेका छौं ।’ सूर्योदयको अन्तु कन्याम सहित गोर्खेको थुम्के, गुफापाताल, स्वामीपार्क लगायतका पर्यटकीय स्थलमा पर्यटकले रुचाउने गरेका छन् । गोरखापत्रबाट