कोकिला ढकाल,
इलाम । वर्षैभरि आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने अन्तुमा हरेक साँझ फरक भएर मनोरञ्जन दिन्छ । चियाका बुट्टा र अन्तु पोखरीमा बिजुली बलेको दृश्यले पर्यटकको अझ मन लोभ्याउँछ । हरेक साँझको रमाइलो फरक आनन्दको अनुभूति दिने हुन्छ ।

वारिपारि होमस्टे र कटेजहरूमा बलेको बत्ती, अन्तु पोखरी वरिपरिको दृश्य त्यहाँ पुग्नेका लागि रातैभर घुमिरहूँ जस्तै हुन्छ । काठमाडौँका ठूला होटलमा गुन्जिने दोहोरी साँझ त अन्तुका पाखा भित्तामा रहेका होमस्टेमा गुन्जन थालेपछि अन्तु पुग्ने पर्यटकलाई ननाची सुखै छैन । लोकदोहोरीका चुट्के गीत र आधुनिक गीतका भाकामा अन्तुको हरेक साँझ रमाउने गरेको छ ।

तराईमा गर्मी बढेसँगै अझ पहुनाको चाप झेल्ने अन्तुमा एक रातको चिसो खान भए पनि पर्यटक पुग्ने गरेका छन् । नयाँ वर्ष २०७८ सुरु भएको पहिलो सातासम्म पनि अन्तुमा सबै होमस्टे, होटल र कटेजहरू पर्यटकले भरिभराउ रहेको होमस्टे सञ्चालक गुडिया आलेले बताउनुभयो ।

नयाँ वर्षको १ र २ गते त पाहुनालाई कहाँ सुताउने भन्ने चिन्ता पनि भयो । करिब पाँच हजारको सङ्ख्यामा रात बस्ने पर्यटक अन्तु भित्रिए आलेले भन्नुभयो, “अहिले पर्यटकको सङ्ख्या केही कम भए पनि यहाँका सबै होमस्टे, कटेज र होटल खाली भएको अवस्था छैन । प्रत्येकमा ५०–६० को सङ्ख्यामा पर्यटक बेलुका बस्न आउने गरेका छन् । ”

बेलुका अन्तु पुगेर बास बस्ने, साँझ पखको चिसोमा घुमघाम, रमाइलो र बिहान सूर्योदयको दृश्यावलोकन गरेपछि अन्तु पोखरीमा डुङ्गा सयर गरेर फर्कनु यहाँ आउने सबै पर्यटकको अनिवार्य सूचीजस्तै हो । यहाँ पुग्ने हरेक व्यक्तिलाई अन्तुका स्थानीयले गर्ने स्वागत सत्कार अलि फरक छ । अबिरको रातो टीका, खदा, फूलको स-साना गुच्छा र रातो चिनीबिनाको असली स्वादको एक गिलास चिया प्रत्येक व्यक्तिका लागि होमस्टेहरूले गर्ने सत्कारको संस्कार बसिसकेको छ ।

एक रातको बासपछि बिहानको खाजा र खाना खाएर पर्यटक फर्कने गरेको अन्तुका अर्का पर्यटन व्यवसायी रुद्र घिमिरे बताउनुहुन्छ । अहिलेसम्म अन्तु आएर फर्कने पाहुनाले कतै गएर पनि गुनासो गरेको हामीले सुनेका छैनौँ । सकेसम्म पाहुनालाई खुसी बनाएर पठाउने गरेका छौँ, जसका कारण पुनः उहाँहरू अन्तु फर्किएर पनि आउनुहुन्छ, घिमिरेले भन्नुभयो । अन्तुका होमस्टे सञ्चालकले अन्य स्थानमा चलेका होमस्टेमा पुगेर सञ्चालनको प्रक्रिया बुझेका छन् । त्यहाँबाट हामीले राम्रा विषयहरू सिकेर अन्तु भित्रने पर्यटकलाई अझ राम्रो ढङ्गले व्यवहार गरिरहेका छौँ ।

यहाँका होमस्टेले पर्यटकलाई गर्ने व्यवहारका कारण पनि पर्यटकबाट अन्तु टाढा नभएको अर्का व्यवसायी एकराज घिमिरे बताउनुहुन्छ । चिसो होस अथवा गर्मी जुनसुकै समयमा पनि अन्तुमा पर्यटकको आवागमन राम्रो भएकाले यहाँका होमस्टे, कटेज र होटललाई पनि सहज भएको घिमिरेको भनाइ छ ।

यसरी आउने पर्यटकले अन्तुमा प्रतिव्यक्ति सरदर पाँच सय रुपियाँ खर्च गर्ने गरेको अन्तु पर्यटन विकास केन्द्रले जनाएको छ । फिक्कल छिविटारबाट १४ किलोमिटर कालोपत्रे बाटो हुँदै पुग्न सकिने अन्तुमा फिक्कल अन्तुका लागि सवारी साधन प्रशस्त हुने गरेकाले पर्यटकलाई अन्तु पुग्न समस्या नभएको बताइएको छ । गोरखापत्रबाट