झापा । छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएसँगै यसको असर नेपालबाट हुने कृषिजन्य वस्तु अलैँची निर्यातमा देखिएको छ ।

नेपाली अलैँचीको निर्यातमा ठूलो हिस्सा ओगटेको भारतमा पछिल्लो समय कोरोनाले महामारीको रूप लिन थालेसँगै त्यसको प्रभाव नेपाली अलैँची निर्यातमा परेको छ ।

केही सातायता पूर्वी नाका काँकडभिट्टाबाट भारत निर्यात हुने अलैँचीको परिमाण ह्वात्तै घटेको नेपाल अलैँची व्यवसायी महासङ्घका पूर्व अध्यक्ष एवम् निर्यातकर्ता निर्मल भट्टराईले बताउनुभयो ।

भारत नेपाली अलैँची निर्यातको सबैभन्दा ठूलो बजार हो । नेपालको करिब ९८ प्रतिशत तयारी अलैँची भारत निर्यात हुने गरेको छ । कोरोना फैलिएसँगै अलैँचीको माग घटेको भारतीय अलैँची व्यवसायीले बताउने गरेको महासङ्घका महासचिव सुवास भट्टराईले बताउनुभयो ।