विराटनगर । प्रदेश १ को मुख्य पर्यटकीय गन्तव्यमा विभिन्न खालका होटल खोल्न २५ अर्ब रुपैयाँ लगानी भएको छ । कोरोनाका कारण पर्यटन क्षेत्रमा आएको मन्दीसँगै होटल क्षेत्रमा लगानी भएको सो रकम जोखिममा पर्ने देखिएको छ ।

पर्यटन व्यवसायीसमेत रहेका आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश १ का संयोजक भवीस श्रेष्ठले पर्यटकीय गन्तव्य क्षेत्रमा नयाँ होटल खुल्ने क्रम बढेको बताए ।

प्रदेश १ मा यही आर्थिक वर्षभित्र खुल्ने क्रममा रहेको र नयाँ बन्दै गरेका होटलमा करिब ५/७ अर्ब बढीको लगानी रहेको उनले सुनाए । कोरोनाको त्राससँगै निर्माणाधीन अवस्थाका ती होटल बन्द हुने अवस्थामा पुग्ने बताउँछन् ।

श्रेष्ठले कोरोनाको त्रास बढिरहेको समयमा सरकारले आवश्यक स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गरी होटल सञ्चालन गर्न दिनुपर्ने बताए ।

कोरोनाको त्रास बढेसँगै प्रदेश १ का प्रमुख पर्यटकीय गन्तव्य भेँडेटार, कन्याम, फिक्कल, सोलुखुम्बुको नाम्चे, सुनसरीको कोशीटप्पु लगायतका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको आगमन ठप्प छ ।

कोरोना भाइरसको त्रासका कारण विभिन्न स्थानमा सञ्चालित होमस्टे र होटलहरु क्रमिकरुपमा सुनसान हुँदै गएको व्यवसायीहरुले जनाएका छन् ।

भेँडेटारमा आन्तरिकसँगै भारतबाट पनि ठूलो संख्यामा पर्यटकहरु आउने गरे पनि कोरोनाको दोस्रो लहर सुरु भए यता त्यो क्रम रोकिएको छ । वैशाख महिनाको सुरुवातसँगै यो क्षेत्र सुनसान बन्दै गएको छ ।

‘भेँडेटारमा दैनिक ५ हजार हाराहारी आन्तरिक र बाह्य पर्यटक आउँथे,’ होटल एसोसिएशन भेँडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राई भन्छन्, ‘करिब आठ महिनासम्म पुरै सुनसान रहेको होटलहरुमा केही महिना सामान्य सुधार त आयो तर फेरि गत वर्षकै अवस्था दोहोरिने संकेत देखिदैछ ।’

भेँडेटारजस्तै हात्ती सफारी र अर्ना हेर्नका लागि कोशी टप्पु पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या पनि पातलिएको छ । होटल व्यवसायी सुभास भुजेलले बिदाको समयमा एक सयको संख्यासम्म पर्यटक आउन थालेकोमा फेरि त्यो संख्या घटे करिब करिब शून्यमा पुगेको बताए ।

चियाको राजधानी भनेर चिनिने इलामको फिक्कल, कन्याम लगायतका पर्यटकीय स्थल धेरैको रोजाइमा पर्छ । तर वैशाख महिनादेखि ती क्षेत्रमा पनि मानिसको चहलपहल पातलिएको छ । सूर्योदयको दृश्य हेर्न श्रीअन्तुमा आउने पर्यटकको संख्यामा पनि कमी आएको स्थानीय होटल व्यावसायी हरि गुरुङले जानकारी दिए ।

‘अघिल्लो सिजनमा पनि कोरोनाले व्यापार व्यवसाय चौपट भयो,’ होटल व्यवसायी गुरुङ भन्छन्, ‘यो पटक पनि सिजनमै कोरोनाको त्रास बढ्यो ।’ कोरोना महामारीको लामो धक्कापछि केही महिना चलायमान भएको पर्यटन क्षेत्र फेरि ठप्प हुन थालेको उनले बताए ।

पशुपतिनगरस्थित नेपाल–भारत सीमा नाका कोरोनाको कहर बढेसँगै बन्द छ । यसले गर्दा भारतीय पर्यटकको आगमन रोकिएको छ । होटल कन्याम हिल कटेजका सञ्चालक राज गिरी भन्छन्, ‘पर्यटक आगमन ठप्प भएकै कारण कन्यामका धेरै होटल बन्द हुने तरखरमा छन् ।’