काठमाडौँ । अन्तरराष्ट्रिय चार्टर उडानबाट अब नेपाली नागरिक पनि विदेश जान पाउने भएका छन् ।

चार्टर उडानका लागि अनुमति पाएका स्वदेशी तथा विदेशी विमानहरूबाट विदेशी नागरिकका साथसाथै नेपाली नागरिक पनि विदेश प्रस्थान गर्न सक्ने गरी सरकारले परिपत्र जारी गरेको छ ।

संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधवार परिपत्र जारी गरेर यस्ता उडानहरूबाट विदेश जान इच्छुक नेपाली नागरिक पनि प्रस्थान गर्न पाउने व्यवस्था गरेको हो । अब विदेशी नागरिक तथा कार्गोका लागि हुने चार्टर उडानबाट नेपाली नागरिक पनि जान पाउने भएका छन् ।

अहिले चार्टर उडान गर्नेमा नेपालको राष्ट्रिय ध्वजावाहक विमान नेपाल एयरलाइन्स, निजीक्षेत्रको हिमालय एयरलाइन्स रहेका छन् भने विदेशी विमानमा कतार, टर्किशलगायत रहेका छन् । उनीहरूले नेपाली नागरिक लैजान पाउने व्यवस्था गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले जानकारी दिए ।

उद्धार उडानबाट यात्रा गर्दा शुल्क भने महँगो तिर्नुपर्छ । उद्धार उडान गर्दै आएका नेपाल विमान कम्पनीले काठमाडौं-रियादका लागि रू ८९ हजार ५००, काठमाडौं-दमामका लागि रू ८४ हजार ५०० र काठमाडौं-जेद्दा उडानका लागि रू ९८ हजार ५०० भाडादर निर्धारण गरेको छ ।

सरकारले गत वैशाख २३ गते बिहीबारदेखि अन्तरराष्ट्रिय नियमित उडानमा रोक लगाएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।