झापा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले सिलिगुढी पेट्रोलियम पाइपलाइन परियोजना तथा भण्डारण गृह निर्माण स्थलको आज निरीक्षण गर्नुभएको छ ।

आयल निगमले इन्धन ढुवानीका लागि नेपाल-भारत सीमा वारपार हुँदै (क्रस बोर्डर) पेट्रोलियम पाइपलाइन निर्माणको प्रारम्भिक इन्जिनियरिङ सर्भे सकेको छ । उहाँले भण्डारण गृह निर्माण स्थलको निरीक्षणपछि प्रस्तावित परियोजना पूर्वी नेपालको महत्त्वपूर्ण र गौरवको योजना भएको बताउनुभयो ।

उहाँले प्रारम्भिक सर्भे कार्य सकिएको हुँदा असोजदेखि सिलिगुढीको डिपोदेखि निगमको चारआलीस्थित भण्डारण गृहसम्मको ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजना जिटुजीमार्फत हुने हुँदा नेपाल सरकार र भारत सरकार बिच समन्वय हुन बाँकी रहेकाले पहल भइरहेको जानकारी दिनुभयो ।

उहाँले पाइपलाइनको माध्यमद्वारा चारआलीको भण्डारण गृहसम्म पेट्रोलियम पदार्थ आउन सुरु गरेपछि विगतमा हुँदै आएको चोरी निकासी र कर्मचारीको बदमासीसमेत रोकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विगतमा ट्याङ्करबाटै पेट्रोलियम पदार्थ चोरी भयो भन्ने गुनासो आउँथ्यो, त्यो रोकिन्छ, पारदर्शिता र सुशासन कायम गर्न बल पु¥याउँछ ।’

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले सुरु भएको दुई वर्षभित्रमा ‘प्रोजेक्ट’ सकिने बताउनुभयो । परियोजना निर्माणका लागि भारतीय मूल्य रु सात अर्ब दुई करोड लागत लाग्ने उहाँले बताउनुभयो ।

मेचीनगर नगरपालिका-१३ मा रहेको निगमको २३ बिघा जमिनमा भण्डारण गृह निर्माणसँगै प्रदेश नं १ मा ९० दिनलाई पुग्ने चार करोड लिटर पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिने उहाँको भनाइ छ ।