काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला समेत रहेको झापाको दमकमा बन्ने भनिएको मुलुकै ठूलो औद्योगिक पार्क ‘चाइना नेपाल फ्रेन्डसिप इन्ड्रष्ट्रीयल पार्क’ को विस्तृत परियोजना प्रतिवेदन (एफडिआई) ले स्वीकृति पाएको छ ।

प्रधानमन्त्री ओलीको अध्यक्षमा मंगलबार बालुवाटारमा बसेको बोर्डको ४७औं बैठकले उक्त पार्कको एफडिआई स्वीकृति गरेको हो । बैठकले विकासकर्तासँग परियोजना विकास सम्झौता (प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट-पीडीए) को लागि आवश्यक तयारी गर्न समेत लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।

सार्वजनिक–निजी साझेदारीको अवधारणामा कुल ६४ अर्बको लागतमा प्रस्ताव गरिएको उक्त पार्कका लागि गत वर्ष नै प्रधानमन्त्रीले बोर्डमार्फत एफडीआई स्वीकृति दिन भनेका थिए ।

योसँगै बोर्डको आजको बैठकले अनुमानित ५४ करोड अमेरिकी डलर रहेको माथिल्लो तमोर जलविद्युत परियोजना (२८५ मेगावट) र ३३ अर्ब ४१ करोड ४० लाख लगानी रहेको तल्लो मनाङ्ग मर्स्याङ्दी जलविद्युत परियोजना (१३९.२ मेगावाट) का दुईवटा जलविद्युत परियोजनाको कुल ४७ अर्ब बराबरको विदेशी लगानी समेत स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै, संखुवासभा जिल्लामा निर्माण हुने तल्लो अरुण जलविद्युत परियोजना (६७९ मेगावाट) को विस्तृत सम्भाव्यता अध्ययनको लागि सर्वेक्षण अनुमतिपत्र जारी गर्न परियोजना विकासकर्ता एसजेभिएन लिमिटेड इन्डियासँग गरिने समझदारीपत्र (एमओयू) को मस्यौदा समेत बोर्डले स्वीकृत गरेको छ ।

त्यसैगरी बैठकले तमोर जलाशययुक्त जलविद्युत परियोजना (७५६ मेगावाट) को सर्वेक्षण अनुमति प्रदान गर्ने सम्बन्धमा देखिएका अस्पष्टताहरुलाई सम्बोधन गरी आवश्यक कानूनी सुधार गर्न ऊर्जा, जलश्रोत तथा सिञ्चाई मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

बैठकले पश्चिम सेती र एसआर-६ संयुक्त जलविद्युत परियोजनाको विकास तथा लगानीको खाका तयार गरी बोर्ड समक्ष सिफारिस गर्न राष्ट्रिय योजना आयोगका सदस्य समेत रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा एक समिति समेत गठन गरेको छ ।