रोहित काफ्ले,
झापा । नेपालको सबैभन्दा होचो स्थान रहेको कचनकवल गाउँपालिकाले आर्थिक वर्ष ०७८/०७९ का लागि ५२ करोड ४३ लाख १५ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।
झापाको सदूरदक्षिणी सो गाउँपालिकाको बिहीबार सुरु भएको नवौँ गाउँ सभामा उक्त बजेट प्रस्ताव गरिएको हो । पर्यटकीय स्थल कचनकवल स्तम्भ र ऐतिहासिक पोखरीहरू रहेको कचनकवल गाउँपालिकाले पर्यटन प्रवर्द्धन र कृषिलाई विशेष जोड दिएको छ ।
वडा नं ६ बनियारीस्थित सामुदायिक भवनमा झापा क्षेत्र न। ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद लिङदेनले उद्घाटन गरेको गाउँ सभामा गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष अञ्जरा आलमले ‘व्यावसायिक कृषि र उद्यममा आधारित पर्यटकीय पूर्वाधार, शिक्षा, स्वास्थ्य र यातायात सञ्जाल, कचनकवलमा समृद्धिको आधार’ भन्ने गाउँपालिकाको दीर्घकालीन दृष्टिकोण सफल तुल्याउने गरी बजेट निर्माण गरिएको बताउनुभयो ।
बजेटको स्रोतको रूपमा केन्द्रीय सरकारमार्फत वित्तीय समानीकरणबाट १३ करोड ६१ लाख, सशर्त अनुदान २५ करोड २६ लाख र राजश्व बाँडफाँडबाट ८ करोड ८१ लाख १७ हजार गरी ४७ करोड ६८ लाख १७ हजार रुपैयाँ प्राप्त हुनेछ भने प्रदेश नं १ सरकारमार्फत वित्तीय समानीकरणतर्फ ७९ लाख २४ हजार, सशर्त अनुदानतर्फ १ करोड ७९ लाख ७४ हजार र राजश्व बाँडफाँडबाट ६६ लाख गरी ३ करोड २४ लाख ९८ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको उपाध्यक्ष निमसी राजवंशीले जानकारी दिनुभयो । उहाँका अनुसार १ करोड ५० लाख आन्तरिक आम्दानी अनुमान गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले स्वागत गरेको सो समारोहमा गाउँपालिकाका योजना शाखा प्रमुख केशव मैनालीलाई सर्वोत्कृष्ट कर्मचारीको रूपमा नगदसहित पुरस्कृत गरिएको थियो भने सबैभन्दा बढी राजश्व सङ्कलन गर्न सफल वडा नं २ लाई सम्मान गरिएको थियो । प्रमुख अतिथि सांसद लिङदेनले पुरस्कार तथा सम्मान पत्र वितरण गर्नुभएको थियो ।
गाउँपालिकाको प्रशासनिक उत्कृष्ट कार्य गरेकोमा योजना शाखा प्रमुख मैनालीलाई गरिएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत बस्नेतले सम्मान तथा उत्कृष्ट कर्मचारी पुरस्कार कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।
नगर सभामा प्रस्तुत बजेटमाथि यही १७ र २७ गते बृहत् छलफल भई संशोधन भए संशोधनसहित र नभए यही बजेट पारित हुने योजना शाखा प्रमुख मैनालीले जानकारी दिनुभयो ।