पुष्प खड्का,
झापा । झापाको धान सुपरजोन क्षेत्रमा १८औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७८ मनाइएको छ । ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मुल नाराका साथ महोत्सव आयोजना गरिएको हो ।
धान सुपरजोन क्षेत्रको रुपमा रहेको कचनकवल गाउँपालिका १ घेराबारीमा कृषि ज्ञान केन्द्र झापाले रोपाइँ नै आयोजना गरि राष्ट्रिय धान दिवस मनाएको हो । केन्द्रले स्थानीय गणेश कृषक समुहसँगको सहकार्यमा कार्यक्रमको आयोजना गरेको कार्यालय प्रमुख निलकमल सिंहले जानकारी दिए ।
सो क्षेत्रको आठ कठ्ठा खेतमा रोपाइँ गरिने उनले बताए । केन्द्रले प्रत्येक बर्ष असार १५ गते विभिन्न कार्यक्रम आयोजना गरि दिवस मनाउने गरेको छ ।
झापामा यसपटक १७ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको प्रमुख सिंहले बताए । झापाको ८७ हजार ५०० हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदै आएको छ । सो क्षेत्रबाट ४.७ मेट्रिक टन प्रतिहेक्टरका दरले ४ लाख १२ हजार २५० मेट्रिक टन धान उत्पादन भएको उनको भनाइ छ ।
यता सरकारले कृषिलाई आधुनिकीकरण गरि उत्पादन बढाउने उद्धेश्यले विभिन्न कृषि जोन क्षेत्र घोषणा गरि कार्यक्रम अगाडि बढाएको छ । झापामा धान, मकै, रबर र सुपारी गरि ४ वटा सुपर जोन निर्धारण गरेको छ ।
कचनकवलबाहेक अन्य १४ पालिकामा प्रतिपालिका २०० हेक्टरका दरले धान सुपरजोन क्षेत्र निर्धारण गरेको छ भने भद्रपुरका केही वडा र कचनकवलमा गरि १ हजार ३०० हेक्टरलाई धान सुपरजोन क्षेत्र घोषणा गरि कार्यक्रम अगाडि बढाएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई झापाका प्रमुख बरिष्ठ कृषि अधिकृत रविन्द्र सुबेदीले जानकारी दिए ।

कृषिलाई आधुनिकीकरण गर्न यान्त्रिकिकरणमा जोड दिँदै उत्पादन बढाउने परियोजनाको लक्ष्य रहेको उनले बताए । सुपरजोन क्षेत्रमा मात्र यो बर्ष २२ प्रतिशत रोपाइँ सकिएको उनको भनाइ छ ।
गएको बर्ष यहि अवधिमा २८-३० प्रतिशत रोपाइँ सकिएको भए पनि निषेधाज्ञाका कारण यो बर्ष रोपाइँ ढिलो भएको उनले बताए । मनसुन ढिलो सक्रिय हुनुका साथै कतिपय स्थानमा हिउँदे धान काट्न ढिला भएकाले पनि यो बर्ष रोपाइँ ढिलो भएको उनले जानकारी दिए ।
नेपाल कृषि प्रधान देश भएको र यहाँका अधिकांश मानिस कृषि पेशामा निर्भर रहेकाले बर्सेनि धान दिवस मनाउने गरिएको छ । २०६१ साल मंसिर २९ गते मन्त्रीपरिषदले निर्णय गरि २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।