झापा । बिर्तामोड नगरपालिकाले कृषकहरुका लागि वोयर जातका बोका, कृषि औजार तथा कृषि सामग्री वितरण गरेको छ ।

नगरपालिकाको कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमकाबीच नगरका १० वटा वडाका कृषक तथा विभिन्न कृषक समूहहरुलाई बोयर जातका बोका, कृषि औजार तथा साइलेज मेसिन वितरण गरिएको हो ।

नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखा र कृषि विकास शाखाको आर्थिक वर्ष २०७७/७८को स्वीकृत कार्यक्रमअनुसार श्रीजंघा बाख्रा पालन समूह बिर्तामोड ७, लखिबारी युवा बाख्रापालन कृषक समूह बिर्तामोड ९, बद्रीवाडी बाख्रापालन कृषक समूह बिर्तामोड ९ र नयाँ नमुना बाख्रापालन कृषक समूह बिर्तामोड ८ लाई बोका वितरण गरिएको हो ।

यसैगरी बिर्तामोड कृषि तथा पशुपालन समूह बिर्तामोड ७ लाई साइलेज मेसिन हारवेस्टर हस्तान्तरण गरिएको छ ।व्यावसायिक कृषकहरुको लागि पशु आहार व्यवस्थापन गर्ने उद्धेश्यले १० लाख ५० हजार मूल्य बराबरको मेसिन हस्तान्तरण गरिएको हो । जसमा नगरपालिकाको ८० प्रतिशत र बिर्तामोड कृषि तथा पशुपालन समूहको २० प्रतिशत लगानी रहेको छ ।

यस्तै नगरपालिकाले १० वटै वडाका ४४ जना कृषकहरुको लागि च्यापकटर (कुटी काट्ने मेसिन) वितरण गरेको छ । बिर्तामोड नगरपालिका र सहारा नेपाल साकोसको साझेदारीमा ती मेसिन वितरण गरिएको हो ।

यस्तै नगरपालिकाले तरकारी उत्पादन गर्ने नगरका १० वटै वडाका ६० जना व्यावसायिक कृषकहरुको लागि स्प्रे ट्यांकी, अर्गानिक विषादीलगायतका विभिन्न सामग्रीहरु समेत वितरण गरेको छ ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले सहयोगी संस्था सहारा नेपालप्रति धन्यवाद ज्ञापन गरे । सहारा नेपाल कृषक तथा विपन्नहरुको लागि सहारा बनेको भन्दै उनले आगामी आर्थिक वर्षमा पनि सहयोग गर्ने प्रतिवद्वता जनाएकोमा सहारा नेपालप्रति उच्च सम्मान व्यक्त गरे ।

नगरप्रमुख शिवाकोटीले कृषि औजार तथा सामग्री वितरण कार्यक्रमलाई मंसिर १५ गते अगाडि नै सक्न पशुपंक्षी तथा मत्स्य विकास र कृषि विकास शाखालाई निर्देशन दिए । यस्तै उपप्रमुख पवित्रा महतारा प्रसाईले विगतका वर्षहरुदेखि नै कृषि, पशुपालन तथा जनता आवास कार्यक्रममा सहारा नेपालसंगको साझेदारीमा कार्यक्रम भईरहेको भन्दै प्रशंसा गरिन् ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले पनि नगरपालिकाको कार्यक्रममा सहारा नेपालले गरेको सहयोगप्रति आभार व्यक्त गरे ।उनले कृषि र पशुपालनको क्षेत्रको बढोत्तरी गर्नको निमित्त सहारा नेपालको सहयोग रहेको भएको भन्दै आगामी आर्थिक वर्ष २०७८/७९को लागि पनि सहकार्य गर्ने दृढता रहेको र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत उल्लेख गरेको जानकारी दिए ।

कार्यक्रममा सहयोगी संस्था सहारा नेपाल साकोसका सहसचिव ज्ञानुनाथ मैनालीले कार्यक्रम सफल हुनुमा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले मेहनत गरेको बताए ।

उनले नगरपालिकासंग सहारा नेपालको टिम पनि संगसंगै लागेर विपन्न वर्गका ग्रामीण क्षेत्रमा रहेका किसानहरुलाई थोरै भएपनि राहत पुगोस् र उत्पादनमा बृद्धि होस् भन्ने अभिप्रायले विगतदेखि अहिलेसम्म सहयोग गर्दै आएको बताए ।