ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा असार २१ गते (भोलि)देखि नियमित उडान हुने भएको छ ।

कोरोना सङ्क्रमणका कारण स्थगित उडान २ महिनापछि सुरु हुने भएको हो । सुकेटारमा अब हप्तामा ४ दिन (सोमबार, बुधवार, शुक्रवार र शनिवार) नियमित उडान हुने विमानस्थल प्रमुख लोकेन्द्र हाङ्गामले बताउनुभयो ।

कोरोना जोखिमलाई मध्यनजर गर्दै जनस्वास्थ्यका मापदण्ड अपनाएर विमानस्थल खुला गरिने हाङ्गामको भनाई छ । रोकिएको उडान सुरु हुने भएसँगै जिल्लावासी हर्षित बनेका छन् ।

काठमाडौँ आवतजावत गर्नका साथै उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजानुपर्ने बिरामीलाई सहज हुने स्थानीय मदन गौतमले बताउनुभयो ।

हाल कोरोना संक्रमित र अन्य बिरामीलाई लाखौँ खर्चेर उपचारका लागि काठमाडौँ, झापा, सुनसरी, मोरङलगायत जिल्लाका अस्पताल लैजानुपर्ने बाध्यता छ ।