झापा । पकाउँदा र भोजन गर्दा समेत मगमग बास्ना चल्ने स्वादिष्ट बासमती चामललाई संरक्षण गर्ने ध्येयले राष्ट्रिय खाद्य बैङ्क कम्पनीले मुलुकका विभिन्न जिल्लामा बासमती धानको व्यावसायिक खेती सुरुआत गरेको छ ।

झापा, कैलाली, बर्दिया र कास्कीलगायतका जिल्लामा यस वर्ष ५०० बिगाहा जग्गा भाडामा लिएर कम्पनीले बासमती धानको बीउ रोप्न सुरुआत गरेको कम्पनीका अध्यक्ष शंकरनाथ उप्रेतीले बताउनुभयो । कम्पनीले झापाको गौरादह नगरपालिका वडा नं २ र ७ मा ५० बिगाहा जग्गा लिजमा लिएर बासमती धानको खेती सुरु गरेको छ ।

शनिवार सयभन्दा बढी रोपाहार लगाएर परम्परागत रूपमै धूमधामका साथ रोपाइ गरेको थियो । स्थानीय १३ किसानको ५बिगाहा जमिन प्रतिबिगाहा वार्षिक रु ३५ हजारका दरले भाडामा लिइएको उहाँले जानकारी दिनुभयो ।

आगामी वर्षदेखि झापामै सयौँ बिगाहामा बासमती धानको खेती विस्तार गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । कम्पनीको झापाका संयोजक धनञ्जय चुँडालका अनुसार गौरादहमा कालो नुनिया, हुलास बासमती, हाइब्रिड कालो नुनिया र रैथाने बासमतीको बिउँ रोपिएको छ ।

स्थानीय डिल्लीप्रसाद सेढाईंले कम्पनीलाई चार बिगाहा जग्गा भाडामा दिइएको जानकारी दिनुभयो । बिगतमा आफूले उत्पादन गरेको धान समयमै बिक्री नहुने, बिचौलियाका कारण सस्तो मूल्यमा बेच्नुपर्ने, खेतीमा मजदुर नपाउने आदि कारणले हैरान भइरहेको अवस्थामा कम्पनीले जग्गा लिजमा लिँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो ।

यस बर्ष कम्पनीले परम्परागत रूपमै खेती गरेको कारण खेत जोत्न, बिउँ उखेल्न र रोपाई गर्न स्थानीयवासीले नै रोजगारी पाएका छन् । अर्को सालदेखि यान्त्रिकीकरण गरेर खेती गरिने कम्पनीले जनाएको छ ।

कृषिको उत्पादन, भण्डारण र विक्री वितरण आफैँले गर्ने नीति अनुरूप देशैभर धान खेती गर्ने यो पहिलो कम्पनी हो । जिल्लामा कूल ८७ हजार ५०० हेक्टर क्षेत्रमा धानखेती भइरहेको छ । तीमध्ये ६ देखि ७ प्रतिशत मात्र बासमती धानको खेती हुँदै आएको कृषिज्ञान केन्द्रका विज्ञ शालिकराम भट्टराईले जानकारी दिनुभयो ।

अन्य धानको तुलनामा यसको उत्पादन कम हुने र पाक्ने समय पनि बढी हुने हुँदा किसानहरूको यसप्रति खासै रुचि नभएको उहाँको भनाइ छ । “पुराना र धनाढ्य किसानले मात्र बासमती धानको खेती गरिरहेका छन्”, उहाँले भन्नुभयो, “अरू धान पाक्दा यो धान पसाउन मात्र सुरु गर्छ । मगमग बासना धेरै आउने हुँदा किराहरु बढी लाग्ने र उत्पादकत्व घट्ने हुँदा व्यावसायिक किसानले यसको खेती गर्दैनन् ।” रोपेको १२० दिनमा मन्सुलीलगायतका धान पाक्ने भए पनि बासमती धान १५० दिनमा मात्र पाक्ने उहाँको भनाइ छ ।

थोरै भए पनि झापाको पूर्वोत्तर क्षेत्र बाहुनडाँगी र दक्षिण क्षेत्रमा बासमती धानको खेती हुने गरेको छ । तर, राष्ट्रिय खाद्य बैङ्कले जिल्लामा गरिरहेको बासमती धानको खेती बारे कृषिज्ञान केन्द्रमा कुनै पनि जानकारी नआएको बताउनुभयो ।

दुई अर्बको पूँँजी रहेको खाद्यान्न बैङ्कका ७७ वटै जिल्लामा कार्यालय रहेको र मुलुकका ७५३ वटै स्थानीय तहमा कार्यक्षेत्र रहेको अध्यक्ष उप्रेती बताउनुभयो । कृषि, माटो, वनस्पति, वातावरण, पर्यटन तथा जलस्रोत विज्ञहरू, कृषि प्राविधिक र कोरिया, जापान, चीनबाट कृषि तालिम लिएका अनुभव प्राप्त व्यक्तिहरूको संयुक्त लगानीमा यो बैङ्कको स्थापना गरिएको उहाँको दाबी छ । बैङ्कमा हालसम्म ५८७ जना प्रमोटर शेयर सदस्य रहेको र निकट भविष्यमै यसले एक हजार शेयर सदस्य पु¥याउने लक्ष्य लिएको छ ।

झापा, मोरङ र सुनसरीका लागि नमुना परियोजनाका रुपमा गौरादहमा यसले धान खेती गरेको जनाएको छ । अन्य प्रजातिको धानको तुलनामा बासमती धानमा पोषक तत्त्वको मात्रा बढी हुने हुँदा यसको खेती गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार फुड एन्ड न्यूट्रिसनको बारेमा जानकारी दिलाउने, पोषणयुक्त खानेकुरा उत्पादन गर्ने र अर्ग्यानिक कृषि उपजहरू उत्पादनमा लगाउने बैङ्कको मुख्य लक्ष्य रहेको छ । लाखौँलाई रोजगार दिने र परनिर्भरता लाई घटाएर मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बनाउने उहाँले बताउनुभयो ।