फुङ्लिङ । ताप्लेजुङ जिल्लाको सुकेटार विमानस्थलमा आजदेखि नियमित नेपाल वायु सेवा निगमले उडान सुरु गरेको छ ।

कोभिडका कारणले नियमित उडान दुई महिना बन्द भएको थियो । तर, आज काठमाडौँबाट नौ यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेको सुकेटार विमानस्थलका स्टेसन इन्चार्ज लोकेन्द्र लिम्बूले बताउनुभयो ।

बाह्र मिनेटभन्दा बढी अवतरणको प्रयास गर्दा पनि मौसमका कारणले अवतरण हुन नसकेर काठमाडौँमै फर्किएको जनाइएको छ ।

ताप्लेजुङबाट १२ यात्रु काठमाडौँ जानका लागि बुकिङ गरेर सुकेटार विमानस्थलसम्म पुग्नुभएको थियो । मौसमका कारणले विमान अवतरण हुन नसक्दा पुर्न फुङ्लिङ बजार फर्किएको लिम्बूले बताउनुभयो ।

सुकेटारमा हप्तामा चार दिन (सोमबार, बुधवार, शुक्रवार र शनिबार) नियमित उडान हुने सुकेटार विमानस्थल कार्यालयले जनाएको छ ।

तत्कालका लागि काठमाडौँदेखि ताप्लेजुङसम्म रु सात हजार ५० र ताप्लेजुङदेखि काठमाडौँ रु सात हजार १९० भाडा शुल्क तोकिएको सुकेटार विमानस्थल कार्यालयले जनाएको छ । निगमले ताप्लेजुङदेखि प्रदेश नं १ राजधानी विराटनगरमा पनि नियमित उडानका लागि प्रक्रिया अगाडि बढाइरहेको बताइएको छ ।