अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको नगरसभाकाे नवौँ नियमित अधिवेशन सम्पन्न भएको छ ।

अर्जुनधारा ७ स्थित पितृ भवनमा बसेको अन्तिम बैठकले असार १० गते प्रस्तुत आर्थिक वर्ष २०७८/७९को नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गर्दै नगरसभा सम्पन्न भएको हो । नगरपालिकाका प्रमुख तथा नगरसभा अध्यक्ष हरिकुमार रानाले नगरपालिकाको आर्थिक वर्ष २०७८/७९को नीति, कार्यक्रम र बजेट, आर्थिक विधेयक २०७८ र विनियोजन विधेयक २०७८ निर्णयार्थ सभासमक्ष प्रस्तुत गरेका थिए ।

सभामा बोल्ने सदस्यहरु नगर गौरवको योजना शनिश्चरे बजारमा मात्र केन्द्रित भएको भन्दै पर्यापर्यटन, धार्मिक क्षेत्रलाई नसमेटिएको गुनासो गरे । यस्तै, खेलकुद, युवा र कला साहित्यलाई बजेट न्यून भएको भन्दै समावेश गरिदिन आग्रह गरे ।

सभामा सदस्यहरु खड्गमाया पराजुली, देवीमाया घिमिरे, रिता नेपाली, देवकुमार राई, अर्जुन मेचे, भोला गौतम, सिताराम भट्टराई, सुशिला सुवेदी, होम दुलाल, सेवन्त ढकाल, सइकुमार राई र सीता रणपहेलीलगायतले आफ्ना धारणासहितको सुझाव राखेका थिए ।

नगरसभाको अन्तिम बैठकमा उठेका सवालहरुको उपप्रमुख कमला खतिवडा आचार्यले जवाफ दिएकी थिइन् ।

सभाका अध्यक्ष रानाले नगरसभामा प्रस्तावित विधेयकमाथि छलफल गरी नीति, कार्यक्रम तथा बजेट पारित गर्दै नगरसभा सम्पन्न भएको घोषणा गरेका थिए । अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९को लागि ४३ करोड २६ लाख तीन हजार दुई सय ३० रुपैयाँ बराबरको बजेट पारित गरेको छ ।