झापा । अर्जुनधारा नगरपालिकामा पशु बिमा गराउने पशुपालक कृषकहरु बढ्न थालेका छन् ।

पशुधनको सुरक्षा गर्ने उद्देश्यले अर्जुनधारा नगर पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखाले सुरु गरेको पशु बिमा कार्यक्रममा कृषकहरुको आकर्षण बढेपछि पशुबाट हुने क्षति कम हुँदै गएको छ ।

चालु आर्थिक वर्षमा मात्र कृषकहरुले पशु बिमा गराएपछि कम्तिमा तीन करोड रुपैयाँबराबरको ‘रिस्क कभर’ भएको शाखाका प्रमुख पदमलाल राईले जानकारी दिए । उनका अनुसार यसवर्ष नगरका ११४ जना किसानले पशु बिमा गराएका छन् ।

कृषकहरुले पशु बिमा गराउन थाले पनि तथ्यांक उत्साहजनक भने छैन । प्रमुख राईका अनुसार नगरका पशुपालक कृषकहरुको तथ्यांक हेर्ने हो भने पनि ५ प्रतिशतले मात्र पशु बिमा गराएका छन् ।

सम्बन्धित निकायमा कृषकको पहुँच नपुग्नु, पुगेका कृषकले रुचि नदेखाउनु, प्रचार प्रसार कम हुनु तथा कमजोर आर्थिक अवस्थाले गर्दा पनि कृषकहरु पशु बिमा गराउन इच्छुक नभएको उनले बताए ।

तर, शाखाले तदारुकताका साथ पशु बिमा कार्यक्रमलाई अघि बढाएपछि यसवर्ष मात्र ११४ जना कृषकले बिमामार्फत सेवा लिएका छन् । उनीहरुको ९५३ वटा पशुको बिमा गरिएको शाखाले जनाएको छ । जसमा ३४५ वटा गाई, ८६ वटा भैंसी र ५२२ वटा बाख्राको बिमा गरिएको हो ।

बिमा गरिएको पशुमध्ये ९० वटाको मृत्यु भएको हुँदा आवश्यक क्षतिपूर्तिका लागि सम्बन्धित कार्यालयमा सिफारिस पठाइएको छ । मृत्यु भएको पशुहरुमा १४ वटा गाई, ११ वटा भैंसी, ६० वटा बाख्रा र पाँच वटा बंगुर रहेको उल्लेख गरिएको छ । कृषकले बिमावापत १९ लाख रुपैयाँ पाउने बताइएको छ ।

सुविधासँगै आकर्षण बढ्यो
पशुपालक कृषकका लागि संघीय सरकार स्थानीय सरकारले सेवा सुविधा दिन थालेपछि अर्जुनधारामा पशु बिमा गराउने बढ्न थालेको छ ।

पशु बिमा गराएवापत संघीय सरकारले ७५ प्रतिशत बिमावापतको प्रिमियम रकम दिने गरेको छ । सोही सेवा सुविधामा कृषकहरुले पशु बिमा गराएका थिएनन् । तर, स्थानीय सरकारले पनि थप सुविधा दिएपछि कृषकहरुको आकर्षण बढेको शाखा प्रमुख राईले बताए ।

उनका अनुसार गत आर्थिक वर्षहरुमा कृषकहरुको सहभागिता नभएको अवस्थामा चालु आर्थिक वर्ष ०७७/०७८ को वार्षिक स्वीकृत कार्यक्रममार्फत् बिमा गरेबापत प्रिमियमको ५० प्रतिशत रकम भुक्तानी गर्ने भएपछि उनीहरुको आकर्षण बढेको हो ।

कृषकहरुले पशु बिमा गर्दा तिर्नुपर्ने प्रिमियमको २५ प्रतिशत रकममध्ये पनि १२.५ प्रतिशत शाखाले भुक्तान गरेको बताइएको छ । जसअनुसार प्रिमियमबापत कृषकले १२.५ प्रतिशत रकममात्र बुझाउनु पर्छ ।

यसैबीच, नगरपालिकामा भर्खरै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न आएका अम्बिकाप्रसाद चौँलागाईले पशु शाखाको निरीक्षण गरे ।

प्रप्रअ चौँलागाईले शाखाबाट हुने सेवा प्रवाह र शाखामा उपलब्ध वस्तुस्थितिका बारेमा जानकारी लिएका थिए । निरीक्षणका क्रममा नगर प्रमुख हरिकुमार राना र उपप्रमुख कमला खतिवडा आचार्य पनि थिए ।