बिर्तामोड । दमकमा केन्द्रीय कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले बिर्तामोडमा पनि सेवा विस्तार गरेको छ ।

बिर्तामोडमा रहेको सुन्दर बचत तथा ऋण सहकारी संस्थासँग एकीकरण भएपछि मेचीको सेवा बिर्तामोडमा पनि सुरु भएको हो । सुन्दर बचतसँग गएको वैशाख महिनामा एकीकरण भएको थियो ।

२०५४ सालमा वित्तीय सेवा सुरु गरेको मेची सहकारी रजत महोत्सव मनाउने तयारीमा छ । अरु सहकारीभन्दा भिन्न रहेकाले बिर्तामोडमा पनि आफ्नो सेवा विस्तार गरेको संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले बताए ।

‘सदस्यको सेवा सुविधामा मात्रै हाम्रो ध्यान छ’, आज बिर्तामोडस्थित सेवा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भट्टराईले भने । १० वटा सेवा केन्द्रमार्फत वित्तीय कारोवार गर्दै आएको मेची सहकारीमा नौ हजार सदस्य छन् ।

सहकारीले दमकमा आफ्ना सदस्यलाई घर बनाएर सहुलियत दरमा आवास सुविधा उपलब्ध गराउने प्रक्रिया थालेको छ । पहिलो चरणमा ५२ वटा घर बन्दैछन् । ३१ करोड शेयर पूँजी रहेको सहकारीले दुई अर्व ५० करोड ऋण लगानी गरेको प्रमुख अधिकृत खोम बगालेले बताए । सदस्यले स्वास्थ्य शिक्षा लगायतमा पनि सहयोग पाउने गरेका छन् ।

मेची सहकारीले सबै सदस्यको ५० हजार बरावरको दुर्घटना बीमा गरेको छ । काजक्रियावापत २६ हजार रुपैयाँ दिने गरिएको छ । मुटु, मिर्गौला र क्यान्सरका विरामीले ५० हजारसम्म सहयोग पाउँदै आएका छन् ।

यस्तै, ७० वर्ष माथिका ज्येष्ठ सदस्यलाई बृद्धभत्ताको व्यवस्था गरिएको छ । बिर्तामोडमा सेवा विस्तारसँगै उत्तम खनालको अध्यक्षतामा सदस्य सेवा केन्द्र सञ्चालन समिति पनि बनाइएको छ ।