झापा । कृषि ज्ञान केन्द्र झापाले जिल्लाका ८४ जना कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ ।

ज्ञान केन्द्रले आव ०७७/०ं७८ को बजेटबाट ५० देखि ७५ प्रतिशतसम्मको अनुदानमा कृषि यान्त्रीकरण औजार आर्थिक वर्षको अन्त्यमा वितरण गरेको हो ।

धान र मकै सुपर जोन घोषित झापामा कम लागतमा उत्पादन वृद्धि गरी किसानले अधिक लाभ लिउन् भन्ने उद्देश्यले सङ्घीय तथा प्रदेश सरकारको कृषि यान्त्रीकरणका लागि औजार उपकरण, प्रयोग प्रवर्द्धन कार्यक्रम अन्तर्गत कृषकलाई दुई वटा मकै ड्रायर मेशिन, १२ वटा मिनी ट्रिलर, १० वटा अल्टिक्रस थ्रेसर वितरण गरिएका हो ।

यस्तै, ८ वटा रोडाभेटर, २८ वटा पावर ट्रिलर, १३ वटा स्वचालित टिपर, ४ वटा मेजर ट्रिलर, दुइटा डिस्क होरै, एउटा पावर ट्रिलर एटेच्मेन्ट रिपर, ३ वटा ब्रस कटर र एउटा पावर स्प्रेसमेत लगभग एक करोड रुपैयाँ बराबरको कृषि औजार वितरण गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले जानकारी दिनुभयो ।

सङ्घीय सरकारको मकै उत्पादन प्रवर्द्धन कार्यक्रम अन्तर्गत झापा गाउँपालिकाको मार्सल कृषि सहकारी संस्था र कुमरखोद साना किसान कृषि सहकारी संस्थालाई मकै समाउने ड्रायर ५० प्रतिशत अनुदानमा प्रदान गरिएको थियो ।

१७ लाख ६५ हजार खर्च भएको ती मेशिनका लागि ज्ञान केन्द्रले ७ लाख ५० हजार, झापा गाउँपालिकाले २ लाख व्यहोरेका थिए भने सम्बन्धित सहकारीले ८ लाख १५ हजार रुपैयाँ व्यहोरेको कृषि प्राविधिक शालिकराम भट्टराईले जानकारी दिनु भयो ।