झापा । झापाको दोस्रो ठूलो भन्सार भद्रपुर भन्सार कार्यालयले आर्थिक वर्ष ०७७/७८ मा २७ करोड ९ लाख १८ हजार रुपैयाँ सङ्कलन गरेको छ । यो राजश्व सङ्कलन भन्सार विभागले दिएको संशोधित लक्ष्यभन्दा कम हो ।

विभागले पहिलो पटक दिएको लक्ष्य १६ करोड कार्यालयले पहिलो ६ महिनामै सङ्कलन गरेपछि दोस्रो पटक ३० करोड २१ लाख राजश्व असुलीको लक्ष्य दिएको थियो । दोस्रो लक्ष्य पनि पूरा गर्ने सम्भावना रहिरहेको बेला कोरोनाको दोस्रो लहर चलेको र सीमा नाका पनि केही समय ठप्प भएकोले लक्ष्यमा पुग्न नसकिएको भन्सार प्रमुख प्रमोद पौडेलले बताउनुभयो ।

कार्यालयको तथ्याङ्क अनुसार भन्सार महसुलतर्फ १३ करोड ५० लाख ४८ हजार, मूल्य अभिवृद्धि करतर्फ ११ करोड, आठ लाख ८६ हजार, कृषि सुधार शुल्कबापत एक करोड, छ लाख ७६ हजार, भन्सार सेवा दस्तुरबाट १८ लाख ४४ हजार ६००, अन्तशुल्कवापत ५५ लाख ४६ हजार ५००, अग्रिम आयकरतर्फ ६६ लाख १८ हजार र आकस्मिक लाभकारतर्फ तीन लाख दुई हजार राजश्व असुली भएको छ । लक्ष्यको ९० प्रतिशत राजश्व असुली भएको देखिन्छ ।

भद्रपुर नाकाबाट खाद्यान्न, लत्ताकपडा, माछा, चिया उद्योगका लागि चाहिने औजारलगायत सामग्री आयात हुँदै आएको छ । दुई वर्षअघि मेची पुल बने पनि भारतको विहार र पश्चिम बङ्गालतर्फ जोड्ने एप्रोच सडक बनिनसकेकोले यो नाका भएर मट्टितेलका ट्याङ्कर, सिमेन्टका लागि चाहिने क्लिङ्कर, कोइलालगायतका सामग्री लिएर ठुला मालवाहक सवारी नआउँदा राजश्वमा अपेक्षित वृद्धि हुन नसकेको भन्सार प्रमुख पौडेलको भनाइ छ ।