रोहित काफ्ले,
झापा । झापामा नयाँ जातको केराको खेती सुरु गरिएको छ । पहिलो पटक गरिएको नयाँ जातको केराको खेती फस्टाएपछि किसान पनि खुसी भएका छन् ।

झापामा केरा खेतीका लागि परिचित झापा गाउँपालिकाका युवा किसान चन्द्रप्रसाद बस्नेतले इजरायलमा हुने विलियम हाइब्रिड जातको केराको खेती सुरु गर्नुभएको हो ।

झापा गाउँपालिका वडा नं ३ मा बस्नेतले साझेदारीमा एग्रीसेन्टर झापा प्रालि नामको कृषि फार्म सञ्चालन गरी सोही फार्ममार्फत अघिल्लो वर्षदेखि गरेको केरा खेती फस्टाएपछि खेती बिस्तार पनि हुँदै गएको छ ।

हाल चार बिगाहा क्षेत्रफलमा गरिएको केरा खेतीमा इजरायली विलियमसँगै नेपालका लागि नयाँ प्रजातिकै मानिने भुटानी मालभोग केरा रोपिएको छ भने बगानको बीच–बीचमा नेपाली मालभोग केरा पनि लगाइएको छ ।

खेती बिस्तार गरेर २५ बिगाहा पुर्‍याउने लक्ष्य रहेको सुनाउँदै त्यसका लागि लिजमा जग्गाको व्यवस्था गरी घेराबारा गरिसकिएको र आउने सिजनमा बिरुवा रोपिने बस्नेतले जानकारी दिनुभयो ।

सरकारी कोटामा स्थानीय कृषि सहकारी संस्थामार्फत कृषिसम्बन्धी ज्ञान हासिल गर्न ११ महिना इजरायल जानुभएका बस्नेतले त्यहाँ केरासम्बन्धी सिकेको सिप र प्रविधि अनुसार नै आफ्नै ठाउँमा केरा खेती गरेको र त्यसबाट सफलता प्राप्त हुँदै गएको बताउनुभएको छ ।

उहाँले इजरायलबाटै विलियम जातको केराको एउटा बिरुवा ल्याएको र काठमाडौँको कृषि ल्याबमा विकास गरिएको बिरुवाहरू ल्याएर हावाहुरीले क्षति पुर्‍याउन नसक्ने समयक्रम मिलाएर खेती गरिएको बताउनुभयो ।

अहिले उहाँको बगानमा पाक्दै गरेका, पाक्न आँटेका, पसाउँदै गरेका र हुर्कँदै गरेका विभिन्न चरणका बोट छन् । एउटै माटोमा १० वर्षसम्म खेती गर्न मिल्ने यो जातको केरामा रोग प्रतिरोधात्मक क्षमता बढी हुने बस्नेतको भनाइ छ । विलियम जातको व्यावसायिक केरा खेतीमा अन्य किसानको पनि आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो ।

अहिले बस्नेतको फार्मबाट जिल्लाकै अन्य किसान र पश्चिम चितवनसम्मका किसानले बिरुवा लैजाने गरेका छन् । त्यहाँ उत्पादित केरा मुख्य रुपमा काठमाडौँ जाने गरेको छ भने पूर्वका इटहरी र बिर्तामोडमा पनि थोकमा बिक्री भइरहेको छ ।

बस्नेतले व्यावसायिक रुपमा केरा खेती गरेको देखेपछि झापा गाउँपालिकाले पनि केरा खेतीलाई प्रोत्साहन गर्न केही सहयोग गरेको छ । एग्रीसेन्टरमा बस्नेतसँगै डम्बर खनाल, पूजा खनाल, हरिकला कार्कीसमेत पाँच जनाको साझेदारी छ ।

२५ लाखबाट सुरु गरेको व्यवसायमा अहिले ७० लाख रुपैयाँ लगानी पुगिसकेको छ । सो फार्ममा अहिले पाँच जनाले प्रत्यक्ष रुपमा नियमित रोजगारी पाइरहेका छन् ।

कस्तो हुन्छ विलियम जातको केरा ?
झापामा पहिलो पटक भित्र्याइएको ‘इजरायली विलियम’ जातको केराको बोट मध्यम उचाइ (बढीमा १० फिटसम्म)–को र निकै मोटो गोलाइको हुन्छ ।

यसको बोट र पात गाढा हरियो हुन्छ । केराको घरी लामो र बाक्लो काइँया (१२ देखि १५ सम्म) हुन्छ । कोसा मोटो र लामो हुन्छ । एउटा घरीमा १७० देखि २०० कोसासम्म फल लाग्छ । यो केरा निकै स्वादिलो र सुगन्धित छ ।