काठमाण्डौ । आज देशका चार वटा प्रदेशमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने महाशाखाले जनाएको छ ।

 

गएराति लुम्बिनीमा ठूलो पानी परेको थियो । अरु ठाउँमा हल्कादेखि मध्यमखालको पानी परेको छ । अबका तीन दिन सोमबारसम्म नै पानी पर्ने अनुमान छ । त्यसपछि मनसुन केही कमजोर हुन सक्ने देखिएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । अहिले मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर ठाउँ आसपासमा रहेको छ भने पूर्वमा सरदर ठाउँभन्दा केही उत्तरतिर रहेको छ ।

 

निरन्तर पानी पर्दा जमिन भिजिरहने भएकाले पहिरोको जोखिम हुने तथा नदीरखोलामा बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन पनि मौसमविद्ले आग्रह गरेका छन् । केही दिनदेखि पानी परेपछि तराई क्षेत्रमा राहत भएको छ ।

 

मधेश प्रदेश, लुम्बिनीसहित तराई क्षेत्रमा गर्मी केही घटेको छ । तर, सोमवारपछि मनसुन कमजोर हुने देखिएकाले फेरि गर्मी बढ्न सक्ने देखिएको मौसमविद् श्रेष्ठले बताए । यो हप्ता तराई क्षेत्रमा परेको पानीले धान रोपेका ठाउँमा रोपो मर्नबाट जोगिएको महोत्तरीका किसान रामविनोद महतो बताउँछन्। पछिल्लो वर्षाले धान, उखु, तरकारी र फलफूलका बिरुवालाई पनि राहत भएको छ ।