बिर्तामोड । झापा, सुनसरीलगायत जिल्लामा ठूलो वर्षा भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाले सूचना निकालेर झापाको दमक, उर्लाबारी र शनिश्चरे, चन्द्रगढी आसपासका क्षेत्रमा ठूलो वर्षा भएकाले बाढी र डुबानको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।

 

यस्तै, सुनसरीको बूढी खोला, खेसलिया खोलालगायत क्षेत्र भइ बहने साना नदी तथा खोलामा बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज प्रदेश १, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

 

यस क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएको मशाशाखाले जनाएको छ । वर्षाका कारण मेची, विरिङ, निन्दा, रतुवा लगायत साना खोलामा बाढीको जोखिम बढ्ने भएकाले तटीय डुबान भइरहने होचा भूभागमा बिहानसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 

यसैबीच महाशाखाले आजको मौसमबारे पूर्वानुमान गरेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास तथा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ । देशका प्रदेश १, बागमती, गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

 

सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मंगलबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।

 

देशका धेरै स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।