झापा । झापाको कनकाई नहरमा पौडी खेल्न गएका एकै गाउँका दुई बालबालिकाको डुबेर मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ९ स्थित आइतबारे निवासी सुस्मा सुन्दासको ११ वर्षीया छोरी एन्जिला सुन्दास र सोही ठाउँका ध्रुव राईको १२ वर्षीय छोरा सिकुम राई रहेको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकका अनुसार बिहीबार दिउँसो ४ बजे सुन्दास र राई घर नजिकैको कनकाई सिँचाई आयोजनाको नहरमा पौडी खेल्न गएका थिए । साँझ अबेरसम्म उनीहरू घर नफर्किएपछि परिवारजनले खोजतलास गर्ने क्रममा नहरको डिलमा उनीहरूले लगाएको कपडा र चप्पलमात्र फेला पारेका थिए ।

 

त्यसपछि परिवारजन र छरछिमेकले तत्काल इलाका प्रहरी कार्यालय झिलझिललाई खबर गरेपछि प्रहरी टोली घटनास्थल आइपुगेर खोजतलास गरेका थिए । प्रहरी र स्थानीयले उनीहरूको खोजतलास गर्ने क्रममा कपडा राखिएको स्थानदेखि ४ किलोमिटर पश्चिम शिवसताक्षी ७ स्थित सताक्षी खोलामा दुवै जना पानीमा डुबिरहेको अवस्थामा मृत फेला पारेको डीएसपी पाठकले बताए ।

 

दुवै शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । यता घटनाको बारेमा इलाका प्रहरी कार्यालय झिलझिलेले अनुसन्धान अघि बढाएको छ भने एकै गाउँका दुई बालबालिकाको डुबेर मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ ।