काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो महसुस भएको बताएको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको बताएका हुन् । तापक्रम घटेका कारण चिसो महसुस भएको उनले बताए ।

 

अहिले पश्चिमबाट हावा चलेको र कहिलेकाहीँ उत्तरपश्चिम भेग हिमालतिरबाट पनि हावा आउने हुँदा चिसो हुने गरेको उनले बताए । तुलनात्मक रूपमा यो हप्ता यत्तिकै चिसोको अवस्थामा रहने उनको भनाइ छ ।

 

वरिष्ठ मौसमविद् पौडेलले तापक्रम निरन्तर नघट्ने स्पष्ट पारे । अक्टोबर र नोभेम्बर महिनामा यत्तिकै अवस्थामा अथवा एक, दुई डिग्रीको तलमाथि मात्रै रहने उनको भनाइ छ ।

 

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले डिसेम्बर महिनाको सुरुवात भएपछि भने तापक्रम घट्दै जाने र जाडो बढ्दै जाने उल्लेख गरे । ‘बिस्तारै गर्मी समय सकिएर जाडोयाम तिर छिर्दैछौँ । मनसुनी वर्षा, गर्मीको समय थियो भने त्यो सकिएर अब हामी पोस्ट मनसुनमा लागेका छौँ । यो गर्मी सकिएको जाडो आउन लागेको अवस्था हो । अहिले नै जाडो पूरै भइसक्यो भन्ने अवस्था त छैन,’ उनले भने ।

 

शुक्रबार बिहान काठमाडौंमा पनि ११ डिग्रीको हाराहारीमा तापक्रम पुगेको छ । उनले मनसुन सकिएर पोस्ट मनसुनको अवस्था भएकाले बिस्तारै जाडो हुँदै जानु स्वभाविक भएको बताए । ‘चिसो लगातार घटेको घटेकै गर्दैन । कुनैदिन बादल लागेको अलिअलि चिसो हावा छ, उत्तरपश्चिमबाट हावा बहेको छ भने चिसो महसुस हुन्छ । दक्षिणपश्चिम अथवा हावाको दिशा कता बहन्छ त्यसमा निर्भर गर्ने गर्दछ । आकाशमा कत्तिको घाम लाग्छ दिउँसोको समयमा त्यसमा पनि भर पर्ने गर्दछ । दिउँसो बादल खुला भयो भनेदेखि दिनमा घाम लाग्नसक्यो । तापक्रम बढ्यो भने न्यानो महशुस हुन्छ । दिनप्रतिदिन गर्मी हुने अवस्था छैन । जाडो बिस्तारै हुँदै जाने गर्दछ । माइनसमा आएर कठ्यांग्रिने हुने पनि होइन । क्रमिक रुपमा जाडो क्रमशः बढ्दै जान्छ । वर्षा हुने सम्भावना एकहप्ता यता छैन,’ उनले भने ।

 

वरिष्ठ मौसमविद् पौडेलले डिसेम्बर महिनाबाट जाडो हुने उल्लेख गर्दै डिसेम्बर, जनवरी र फेब्रुअरीमा तराईमा हुस्सु र कुहिरो लाग्ने भएकाले अहिलेदेखि नै सचेत हुनुपर्ने बताए । शीतलहरको अवस्था पनि आउनसक्ने भएकाले त्यसबाट बच्न पूर्वतयारी गर्न उनको सुझाव छ । इकान्तिपुरबाट