झापा । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि पानी परेको छ । अहिले सामान्य वर्षा भए पनि दिउँसादेखि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

अहिले बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक, दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । दिउँसो कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक, दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताए ।

 

उनका अनुसार आज राति कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै ठाउँ र बाँकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । मौसम पूर्वानुमान महाशाखाले पर्सि सोमबारसम्म नै देशका विभिन्न भागमा सरदरभन्दा धेरै पानी पर्ने सम्भावना रहेकोले बाढी, पहिरो र भेलपहिरोको जोखिम हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

 

नेपालमा अहिले दुईथरी न्यूनचापीय प्रणालीको प्रभाव छ । मनसुनको मुख्य न्यूनचापीय रेखा नेपाल नजिक आइपुगेको छ । यसका साथै भारतको बिहारको उत्तरपश्चिम तथा आसपासमा रहेको अर्को न्यूनचापीय प्रणालीको उच्च प्रभाव रहेको महाशाखाले जनाएको छ ।