झापा । आज बाग्मती, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली भएको छ । बिहान काठमाण्डौ उपत्यकासहित कोशी र गण्डकीका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेको र बाँकी अरु ठाउँमा सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

काठमाण्डौमा आज बिहानको न्यूनतम तापक्रम ५ दशमलव २ डिग्री सेल्सियस मापन भएको छ । हिजोको न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस रहेको थियो । आज शून्य दशमलव ४ डिग्री घटेको हो । तराईका धेरैजसो ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।

 

महाशाखाले तराई, मधेस क्षेत्रको मौसमी अवस्थालाई विश्लेषण गरी शीतलहर घोषणा गर्ने तयारी गरेको छ । आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र कोशीका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने पूर्वानुमान छ । नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।