खुदुनाबारी (झापा) । झापाको अर्जुनधारा ३ मा रहेको जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको आज सम्पन्न चुनावमा स्थानीय तहको झल्को पाइएको छ ।

 

स्थानीय तहकै निर्वाचनजस्तो दुई फरक मतदान स्थल क र ख को व्यवस्था गरिएको थियो । अर्जुनधारा ४ र ७ का केही भागका उपभोक्ताका लागि शिवनारायण आधारभूत विद्यालयलाई मतदान स्थल तोकिएको थियो ।

 

यस्तै, अर्जुनधारा ३ का उपभोक्ताका लागि वन समूहकै कार्यालयपरिसरमा व्यवस्थापन गरिएको थियो । चुनावमा विभिन्न राजनीतिक दल सम्मिलित तीन प्यानलले उम्मेद्वारी दिएका थिए ।

 

कुन पार्टीको कुन प्यानल ?
नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय जनमुक्ति पार्टी र राप्रपाको गठबन्धनले प्रगतिशील नाम दिएको समूहको नेतृत्व नरेन्द्र मिश्रले गरेका छन् । उनको चुनाव चिह्न हात्ती रहेको छ ।

 

लोकतान्त्रिक समूहमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको संयुक्त प्यानल छ । यस समूहको नेतृत्व मोहन श्रेष्ठले गरेका छन् भने उनको चुनाव चिह्न सिंह रहेको छ । यसैगरी, गैँडा चुनाव चिह्नमा भोलानाथ पौडेलले उम्मेद्वारी दिएका छन् । उनीहरुको समूहको नाम हरियाली स्वतन्त्र रहेको छ ।

 

चुनाव नजिकिँदै जाँदा तीनै प्यानलका उम्मेद्वारहरुले राजनीतिक दलका उम्मेद्वारले झैँ उपभोक्ता (मतदाता)कै गाउँमा पुगेर घरदैलो अभियान सञ्चालन गरे । नमुना मतपत्र दिएर आफ्नो प्यानललाई विजयी गराउन अनुरोध गर्दै मतदानको अभ्यास पनि गराए ।

 

मतदानको तयारी कस्तो ?
मतदान हुने स्थल स्थानीय तहकै चुनावझैँ महिला र पुरुषका लागि अलग अलग स्थानको व्यवस्था गरिएको थियो । यस्तै, मतदान केन्द्र पनि फरक फरक राखिएका थिए ।

 

उसैगरी, मतपेटिका, मतदाता रुझु गर्ने प्रतिनिधि, मतदान अधिकृत, स्वयंसेवकसँगै सुरक्षाकर्मी पनि व्यापकरुपमा परिचालन गरिएको थियो । मतदान स्थल वरपर निकै चासोपूर्वक आफ्ना समर्थकहरु मत माग्न भ्याइ नभ्याइ थिए ।

 

कोही आफ्ना आफन्तलाई सम्झाइरहेका थिए भने कोही मतदाता नामावली, क्रमसंख्या खोज्न सघाइरहेका भेटिन्थे । यस्तै, नगरस्तरीय राजनीतिक दलका नेतादेखि केन्द्रीय तहका नेता पनि मतदान स्थलमा भेटिए ।

 

मतदाता र उम्मेद्वार कति ?
३ हजार ५ सय ३६ जना मतदाता रहेको यस वन समूहमा १५ जना पदाधिकारी तथा सदस्य निर्वाचित हुने व्यवस्था रहेको निर्वाचन आयुक्त दिपिन राईले जानकारी दिए । तर, १५ जनाको स्थानमा ४३ जनाले उम्मेद्वारी दिएका छन् ।

 

कति कर्मचारी खटिए ?
मतदान अधिकृत जीवन भण्डारीका अनुसार आज भएको निर्वाचन सभ्य र भव्यरुपमा सम्पन्न गराउन ५३ जना खटिए । जसमा ३० जना कर्मचारी, १६ जना नेपाल प्रहरी र सशस्त्र प्रहरी, ११ जना वन रक्षक र ६ जना निर्वाचन आयोगका कर्मचारी परिचालित थिए ।

 

कहाँ कति मत खस्यो ?
यसैबीच, १ हजार ५५० मतदाता रहेको शिवनारायण आविमा १ हजार ३५४ र १ हजार ८५२ मतदाता रहेको जुकेखाडी वनमा १ हजार ६३८ मत खसेको निर्वाचन आयुक्त राईले जानकारी दिए । ३ हजार ५३६ मतमा २ हजार ९९२ मत खसेको हो ।

 

उनका अनुसार सोमबार रातिदेखि नै मतगणना गर्ने तयारी गरिएको छ । मंगलबार साँझसम्म निर्वाचन परिणाम आउने बताइएको छ । यस वन समूहको स्थापना २०५२ सालमा भएको हो ।

 

चुनावका बेला देखिएका झलकहरूः