बिर्तामोड । नेपाली चलचित्रकै इतिहासमा पहिलोपल्ट नेपाली र मेचे भाषामा निर्माण गरिएको चलचित्र ‘विक्रम देवा’को पोस्टर झापाको बिर्तामोडमा आज सार्वजनिक गरिएको छ ।

 

चलचित्रको प्रमोशनका लागि आयोजित पत्रकार सम्मेलनमा निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै चलचित्रको विषयमा जानकारी गराएको हो ।

 

चलचित्रका निर्माता अर्जुन मेचेले ‘बिक्रम देवा’ को असोज १४ गते बिर्तामोडमा प्रिमियर शो हुन लागेको बताए । लोपोन्मोख मेचे जाति तथा समुदायको धर्म संस्कृतिलाई उजागर गर्ने उद्देश्यले झापामै पहिलोपटक ठूलो पर्दामा चलचित्र विक्रम देवा निर्माण गरिएको उनले दाबी गरे ।

 

चलचित्र बिक्रम देवामा ३० प्रतिशत मेचे भाषा, धर्म, संस्कार, रितिरिवाज समेटीएको र ७० प्रतिशत नेपाली धर्म संस्कृति रहेको अर्का निर्माता प्रताप मेचेले बताएका छन् ।

 

कुमार केसीको निर्देशनमा निर्माण भएको विक्रम देवामा सुवास मेचे, प्रताप मेचे, सुनिल थापा, पुकार भट्टराई, उर्मिला कार्की, भावना मगर, सकिला गुरुङ, विपिन प्रसाई, रोहन सेन्चुरी, रविन मेचे, सत्यम मेचे, टेकराज विक, अमर मेचेलगायत कालाकारको अभिनय रहेको छ ।

 

जय भोले बाबा फिल्सको प्रोडक्शन रहेको चलचित्र विक्रम देवामा उपनिर्देशक निशानजेन तामाङ, कोरियाग्राफी कमल राई, एक्शन निर्देशन सन्तोष भुजेलको रहेको छ ।

 

विक्रम देवा चलचित्र एक करोड २० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । चलचित्र इलाम र झापाका विभिन्न पर्यटकीय तथा रमणीय स्थलहरुमा छायङ्कन गरिएको बताइएको छ ।