झापा । मधेश, बाग्मती र कर्णाली प्रदेशका एक, दुई ठाउँमा अहिले चट्याङसहित हल्का वर्षा भइरहेको छ । देशभर पश्चिमी वायुको प्रभाव र स्थानीय वायुको आंशिक प्रभाव छ ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ । बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका थोरै ठाउँ तथा कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी एक, दुई ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक, दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैबीच, देशका विभिन्न ठाउँमा तापक्रम घट्न थालेको छ । काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम आज १४ डिग्री सेल्सियस मापन भएको छ । अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेल्सियसका बीच रहने अनुमान छ ।
चिसो बढेकाले मौसमी रुघाखोकी, ज्वरोलगायतका बिरामीसमेत बढेका छन् । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीलाई समस्या हुने भएकाले सावधानी अपनाउन डाक्टरको सल्लाह छ ।