श्रीअन्तु, (इलाम) । दोश्रो गोरख भेट्रान्स कपको उपाधि पूर्वेली भेट्रान्स बिर्तामोडले जितेको छ । सूर्योदय ५ समालबुङस्थित सामसुङ मेमोरियल खेलमैदानमा भएको फाइनल खेलमा दमक भेट्रान्सलाई टाइब्रेकरमा ४-२ गोलअन्तरले हराउँदै बिर्तामोडले उपाधि जितेको हो ।
उपाधिसँगै बिर्तामोडले ७० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता दमकले ३५ हजारमा चित्त बुझायो । निर्धारित समयमा दुवै टिमले ३-३ गोलको बराबरी खेलेका थिए । खेलमा अग्रता बिर्तामोडले बनाएको थियो । तेश्रो मिनेटमा कप्तान दिनेश चौधरीले बिर्तामोडलाई अग्रता दिलाएका थिए ।
१०औँ मिनेटमा दमकका दिपेन गिरीले खेल बराबरी गरे । २२औँ मिनेटमा कर्ण लिम्बूले बिर्तामोडको अग्रता दोब्बर बनाए । दोश्रो हाफको चौथो मिनेटमा दमकका चन्द्र गिरीले गोल गर्दै खेल बराबरीमा ल्याए ।
सातौ मिनेटमा आशिष सुब्बाले गोल गर्दै दमकलाई ३-२ गोलअन्तरको स्थितिमा पुराए तर बिर्तामोडका कर्ण लिम्बूले २१औ मिनेटमा गोल गरेर बराबरीमा फर्काएका हुन् ।
खेलको म्यान अफ दी म्याच दमकका कप्तान अजेन तुम्बापो घोषित भए । सर्वोत्कृष्ट खेलाडी बिर्तामोडका गोलरक्षक रुपक गुरुङ र सर्वाधिक गोलकर्ता बिर्तामोडकै प्रेम लिम्बू घोषित भए । गोरख भेट्रान्स फुटबलका संरक्षक राजु बम्जनको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सूर्योदय नगर प्रमुख रणबहादुर राई थिए ।