ठमाडौं। जारी साफ महिला च्याम्पियनसीप २०२४ को अन्तिम सेमिफाइनल खेलमा क्षमताभन्दा बढी टिकट बिक्री गरिएको सार्वजनिक भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले फाइनल खेलको टिकट बिक्री स्थगित गरेको छ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको भारत र नेपालको सेमिफाइनलमा दर्शक क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै एन्फाले उक्त निर्णय लिएको हो ।

 

सम्झौताविपरीत रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै टिकेटिङ्ग अधिकार प्राप्त माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिसँग सत्य तथ्य बुझ्ने कार्य भइरहेको जनाइएको छ।

 

प्रालिले टेन्डर प्रक्रियामार्फत ८० लाख रुपैयाँमा साफ च्याम्पियनसीपको टिकेटिङ अधिकार लिएको थियो। आइतबार करिब १५ हजार दर्शक क्षमता रहेको रंगशालामा १८ हजार ९ जना दर्शकलाई प्रवेश दिएको म्याच रिपोर्टमा सार्वजनिक भएको थियो। लगत्तै एन्फाले कार्तिक १४ गते बंगलादेश र नेपालबीच हुने फाइनल खेलको टिकट बिक्री रोकेको हो।

 

रंगशालाको सिट क्षमताभन्दा धेरै साधारणतर्फ ११ हजार टिकट बिक्री गर्नु पर्नेमा १६ हजार टिकट बिक्री गरिएको र भिआईपीतर्फ दुई हजार बिक्री गर्नुपर्नेमा ४ हजार टिकट बिक्री गरिएको एन्फा उपाध्यक्ष दावा लामाले जानकारी दिए ।

 

दर्शकको सुरक्षाको मधयनजर गर्दै एन्फाले आफैँले टिकट बिक्री गर्ने तयारी गरेको बताउँदै लामाले दर्शकको सुरक्षा नै एन्फाको जिम्मेवारी भएकाले यो निर्णय गर्न पुगेको जानकारी दिए ।

 

‘हालकै अवस्थामा कुनै पनि माध्यमबाट टिकट बिक्री नगर्न, नगराउन र अर्को सूचना जारी नभएसम्म फाइनल खेलको टिकट खरिद नगर्न हुन आम दर्शकहरूमा सार्वजनिक आह्वानसमेत गर्दछौं’, एन्फाले भनेको छ। यो सार्वजनिक सूचनालाई बेवास्ता गर्दै टिकट बिक्रीवितरण गरी कुनै समस्या आइपरेमा एन्फा जवाफदेही नहुने विज्ञप्तिमा उल्लेख छ ।