ताप्लेजुङ । मंसिर १५ गतेदेखि हुने दोस्रो कञ्चनजंगा (सेसेलुङ) अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक ताप्लेजुङ र तेह्रथुम आमनेसामने हुने भएका छन् ।
चासोक तङ्नामको अवसरमा आयोजित प्रतियोगिताको खेल तालिकाअनुसार आयोजकको तर्फबाट कञ्चनजंगा फुङलिङ क्लबले सन्दु फुटबल क्लब तेह्रथुमसँग प्रतिस्पर्धा गर्नेछ ।
१६ गते डाँगीहाट फुटबल क्लब मोरङ र रेड डेभिड्स फुटबल क्लब इलामबीच प्रतिष्पर्धा हुँदा १७ गते गोधूली फुटबल क्लब धरान सुनसरीसँग भारत सिलगढीको कञ्चनजंगा फुटबल क्लबले प्रतिष्पर्धा गर्नेछ ।
पहिलो चरणको अन्तिम खेल १८ गते न्यु स्टार क्लब बिर्तामोड झापा र पाँचथरको फिदिम स्पोर्टिङ क्लबबीच हुनेछ । १९ र २० गते सेमिफाइनल चरणका खेल हुने र २२ गते उपाधि भिडन्त हुने आयोजकले बताएका छन् ।
यस पटकको प्रतियोगितामा अधिकांश क्लबले ए डिभिजन खेलेका नेपाली र विदेशी खेलाडी ल्याउने तयारी गरेको आयोजक चासोक तङनाम सञ्चालन समितिका अध्यक्ष चन्द्रकुमार थेबे बताउँछन् । सेमिफाइनलसम्म दैनिक टिकटदर एक सय रुपैयाँ र फाइनलको दिन दुई सय रुपैयाँ रहेको आयोजकले बताएको छ ।
प्रतियोगिताका विजेताले तीन लाख र उपविजेताले एक लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । कोषाध्यक्ष कुलदीप मादेनका अनुसार हरेक दिनको म्यान अफ द म्याच र समग्र प्रतियोगिताको विधागत पुरस्कारको व्यवस्था गरिएको छ ।
कार्यक्रम सम्पन्न गर्न करिब ५४ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिता लगायतका कार्यक्रम भानुजन माविको मैदानमा हुनेछ ।