बिर्तामोड । मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीको आयोजनामा हुन लागेको बिर्तामोड झापा कप नजिकिँदै जाँदा खेल मैदानको स्तरोन्नति धमाधम भइरहेको छ ।

 

यही मंसिर २९ गतेदेखि हुने अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताका लागि बिर्तामोड ३ मा रहेको डोमालाल राजवंशी रंगशालाको स्तरोन्नति र मर्मत धमाधम भइरहेको झापा ११ का अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।

 

मैदानको झार छाँटेर रंगशालालाई पुरानै अवस्थामा पुर्‍याउन गोडमेल तथा मर्मतको काम तीव्र गतिमा भइरहेको हो । डोमालाल राजवंशी रंगशाला देशभरका खेल मैदानहरुमध्ये उत्कृष्ट र आकर्षक मानिन्छ ।

 

खेल मैदानको आकर्षणमा कुनै कृत्रिमता नहुने र प्राकृतिक घाँसे मैदानलाई मिलाएर बुट्टादार बनाइने झापा गोल्डकपका संस्थापक संरक्षक तथा योजनाकारसमेत रहेका गुरुङले बताए ।

 

झापा ११ ले आफ्नो ‘होम ग्राउन्ड’ मा आयोजना गर्ने प्रतियोगितामा मैदानको आकर्षण नघटोस् भनेर आयोजक समितिले छोटो समयमा काम सुरु गरेको हो । रंगशालामा उम्रिएका अनावश्यक झार उखेल्ने तथा प्राकृतिक घाँस रोप्ने काम थालिएको छ ।

 

उनले मैदान संरक्षणमा दीर्घकालीन योजना आवश्यक रहेको बताए । ‘यसरी झार उखेल्ने अस्थायी काम हो’, गुरुङले भने, ‘यसको दीर्घकालीन योजना हुनैपर्छ ।’ झापाकै गौरवका रुपमा रहेको यो रंगशालालाई बाचइराख्न जरुरी रहेको उनी बताउँछन् ।

 

रंगशालामा करिब १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट पनि निर्माण गरिने प्रतियोगिताका संयोजक केशवराज दाहालले जानकारी दिए । झापा ११ ले स्थापनापछि दोस्रोपटक ठुलो नकआउट फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । क्लबले यसअघि २०७२ सालमा झापा गोल्डकपको सुरुवात गरेको थियो ।

 

प्रतियोगितामा मोफसलका चर्चित टिम र भारतका दुई वा तीनसहित १० वटा टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख पाउनेछ भने उपविजेता टिमले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ । फाइनल खेल पुस ८ गते हुनेछ ।

 

११ वर्षअघि अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा काठमाडौँमा सम्पन्न एन्फा कपमा पहिलोपटकको सहभागितामा नै ए डिभिजन क्लबहरुलाई पराजित गर्दै झापाली टिम च्याम्पियन बनेको थियो ।