काठमाडौं। विकेटकिपर ब्याटर आन्द्रेस गौसकाे कीर्तिमानी शतकसँगै पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो जित दर्ता गरेको छ । उनी एनपीएलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्।

 

ओपनरद्वय आन्द्रेस गौस र दिनेश खरेलको कीर्तिमानी साझेदारीसँगै पोखरा एभेन्जर्सले नेपाल एनपीएलमा पहिलो जित निकालेको हो। शुक्रबार भएको खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै हारको शृंखला भंग गरेको छ।

 

लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पोखराले पछ्याएको थियो। ओपनिङमा उत्रिएका ३१ वर्षीय गौसले आक्रामक ब्याटिङ गर्दै शतक प्रहार गरे । १६.५ ओभरमा पोखराले १७६ रनको स्कोर खडा गरेर जित दर्ता गरेको हो ।

 

कीर्तिमानी साझेदारी गरेका दिनेश खरेलले पनि अर्धशतक पूरा गरेर रेकर्ड बनाएका छन् । उनले ४६ बलमा ६१ रन बनाए भने शतक पूरा गरेका गौसले ५५ बलमा १०४ रन बनाए । एक्स्ट्रा ११ रन बनेको थियो ।

 

त्यसभन्दा अगाडि उनले सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडीको कीर्तिमान पनि कायम गरेका थिए। ३१ वर्षीय गौसले आक्रामक ब्याटिङ गर्दै २० बलमै अर्धशतक प्रहार गरेका हुन्।

 

कप्तान रोहितकुमार पौडेलको कीर्तिमानी रनसँगै लुम्बिनी लायन्सले पोखरालाई १७१ रनको विशाल लक्ष्य दिएको थियो। रोहितले नै टस जितेर पहिला ब्याटिङको निर्णय लिएका थिए।

 

ओपनरद्वय आशुतोष धिरौया र उन्मुक्त चन्द खाता नै नखोलि पभिलियन फर्किए। तर, तेस्रो नम्बरमा आफैं उत्रिएका रोहितले कप्तानी इनिङ्स खेल्दै लुम्बिनीलाई निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १७० को स्कोरसम्म पुर्‍याएका हुन्।